नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता
2021-01-15 20:44:12cri
Share with:

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता_fororder_Nepali News 1

नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहनु भएका नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुब्रह्मण्यम् जयशङ्करबीच हैदरावाद हाउसमा शुक्रबार बिहान भेटवार्ता भएको छ। सो अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा विचारविमर्श भएको सेतोपाटी अनलाइनले लेखेको छ।

बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा भारतका बाह्य मामिला सचिव हर्षवद्र्धन शृङ्गला र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि सहभागी भएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।

आजै दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा आयोगको बैठक सोही भवनमा हुँदैछ। बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ।

भारतीय समयअनुसार शुक्रबार बिहान ११ बजे हैदरावाद हाउसमा बैठक सुरू भएको नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले जानकारी दिनुभयो। भारतीय पक्षको नेतृत्व विदेश मन्त्री एस जयशंकरले गर्नुहुनेछ।

बैठकमा नेपाली पक्षले सीमा, पारवहन,  विद्युत व्यापारलगायत सबै विषयमा कुरा राख्ने ओडारीले बताउनुभयो। आजको बैठकमा नेपालले कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध गराउन भारतीय पक्षलाई अनुरोध गर्नेछ। भारतीय पक्षले खोप कसरी दिने भन्नेबारे बताउने अपेक्षा गरिएको छ।

भारतले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिन आफ्नै देशमा उत्पादन गरिरहेको छ। भोलिदेखि भारतमा यो भ्याक्सिन आम नागरिकलाई लगाउन थालिनेछ। संयुक्त आयोगको बैठकमा लिपुलेक, लिम्पियाधुरासम्बन्धी विवादबारे भने कुनै निर्णय हुने सम्भावना छैन। भारतीय पक्षले यसअघि बिहीबार सीमा विवादबारे कुरा गर्ने अर्कै संयन्त्र रहेको बताएको छ।

बैठकपछि नेपाली टोलीको सम्मानमा भारतीय विदेश मन्त्री जयशंकरले दिवाभोजको आयोजना गर्नु भएको छ। उक्त दिवाभोजपछि परराष्ट्र मन्त्री ज्ञवालीले भारत सरकारनिकट थिंक ट्याङक इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नुहुनेछ।

शनिबार बिहान उहाँले परराष्ट्र मामिलामा रिपोर्टिङ गर्ने  भारतीय पत्रकारहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री ज्ञवाली शनिबार दिउँसो २ बजे नयाँदिल्लीबाट काठमाडौं फर्किनुहुनेछ।