कोरोना महामारीका कारण चोभारको सुख्खा बन्दरगाह निर्धारित समयमा नबन्ने
2021-04-20 16:19:30CRI
Share with:

कोरोना महामारीका कारण चोभारको सुख्खा बन्दरगाह निर्धारित समयमा नबन्ने_fororder_Nepali News 3

काठमाडौंको चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह कोरोना महामारीका कारण निर्धारित समयमा नबन्ने भएको छ। परियोजना निर्माण सम्पन्न हुने म्याद गुज्रिन एक साताअघि ठेकेदार कम्पनी सान्सी-आशिष जेभी र लुम्बिनी-कोसी एन्ड न्यौपाने जेभीले निर्माण सम्पन्न गर्न थप दुई महिनाको समय माग गरेको इन्टरमोडल यातायात विकास समितिले जनाएको अनलाइन खबरले लेखेको छ। कोरोनाका कारण दोस्रोपटक थप गरिएको म्याद वैशाख १३ गते गुज्रिदैँ छ।

सोमबार वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसहित विकास समिति बोर्ड सदस्यहरुले आयोजनाको स्थलगत अनुगमन गरेको र सोही क्रममा निर्माणकर्ताले थप समय माग गरेको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो।

आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत भएको छ। पानी परेको, समयमै कामदार नपाएको तथा निर्माण सामग्री ल्याउन कठिन भएको जस्ता समस्या ठेकेदारहरुले अघि सारेको कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो। ‘परियोजना निर्माण सकेर हस्तान्तरण गर्ने म्याद अर्को साता गुज्रीदैं छ, थप दुई महिना समय चाहियो भनेका छन्, हामीले चित्त बुझ्दो लिखित कारणसहित आउन भनेका छौं,’ कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो।

सोमबारको अनुगमनमा पछि वाणिज्य सचिवले तोकिएकै समयमा निर्माण सकेर हस्तान्तरण गर्न अपनाउन पर्ने सबै उपाय लगाउन निर्माण कम्पनीलाई निर्देशन दिएको विकास समितिले जनाएको छ।

निर्धारत समयमै आयोजना सम्पन्न नभए त्यो समयपछि आयोजनाबाट सरकारले प्राप्त गर्ने लाभलाई गणना गरेर निर्माण कम्पनीलाई क्षतिपूर्ति तिराउने र सोही रकमबाट आयोजना सक्नेगरी काम गर्न पनि विकास समितिले छलफल गरेको कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो।

‘परियोजना निर्धारित समयमै नबने ठेक्का सम्झौतालाई आधार मानेर लाभको गणना गर्छौं र सोही आधारमा क्षतिपूर्तिमार्फत सोही ठेकदारलाई निर्माण सम्पन्न गराउँछौं। हामी उनीहरुको लिखित कारण कुरेर बसेका छौं,’ गजुरेलले भन्नुभयो।

कूल १ अर्ब ४४ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको परियोजनाकालागि विश्व बैंकसँग ११ जुन २०१३ मा सम्झौता भएको थियो। ऋण सम्झौताको ५ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाहको शिलान्यास गर्नु भएको थियो।