दशैँका लागि काठमाडौँ उपत्यकामा ६० हजार खसीबोका ल्याइने
2021-09-24 17:44:59cri
Share with:

दशैँका लागि काठमाडौँ उपत्यकामा ६० हजार खसीबोका ल्याइने_fororder_Nepali News 3

अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि काठमाडौं उपत्यकामा ६० हजार खसीबोका ल्याइने भएको छ। उपत्यकामा खपत हुने मासुको खपतको आँकलन गरी पशुसेवा विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका भित्राउने तयारी थालेको गोरखापत्र अनलाइनले लेखेको छ।

अन्य वर्षसँग तुलना गरेर सरकारले दशैंमा काठमाडौं उपत्यकामा राँगा, बंगुर र कुखुरा बाहेकनै ५० देखि ६० हजार खसीबोका खपत हुने भएकाले सोही सङ्ख्यामा खसीबोका भित्राउने तयारी थालेको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुभयो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा उपत्यकामा भित्र्याउने निर्णय गरेको भए पनि च्याङ्ग्रा भने ल्याउन नसकिने भएकाे छ । कम्पनीले दाङ र हेटौंडाबाट दुई हजार खसीबोका ल्याउने तयारी गरेको कम्पनीका नायब महादिर्नेशक श्रीमणि खनालले जानकारी दिनुभयो।

एक हजार च्याङ्ग्रा ल्याउन कम्पनीले पहल थाले पनि उपल्लो मुस्ताङमा च्याङ्ग्रा उत्पादन कम भएको र चीनको नाका भएर ल्याउनु पर्ने भएकाले यस वर्ष सम्भव नभएको खनालले जनाकारी दिनुभयो। ल्याइएका खसीबोकालाई भने घटस्थापनाको दुई दिन अघि मात्र मूल्य कायम गरी बजार मूल्यभन्दा सहुलियत मूल्य तोकेर त्यसमा समेत प्रतिकिलोग्राम १० रुपियाँ छुट गरी बिक्री गर्ने कम्पनीले जनाएको छ।

पशुसेवा विभागका प्रवक्ता ढकालका अनुसार खसीबोका ल्याउन नेपाल व्यावसायिक बाख्रापालक महासङ्घ, चौपाया खरिद बिक्री सेवा सङ्घ, बाख्रापालन महिला सहकारी लगायतका संस्थासँग खसीबोका ल्याउने विषयमा छलफल भइरहेको बताउनुभयो।