दाङको राप्ती नदी क्षेत्रमा यसपालि देखिएन ‘लोभीपापी गरूड’
2022-01-24 15:32:26cri
Share with:

दाङको राप्ती नदी क्षेत्रमा यसपालि देखिएन ‘लोभीपापी गरूड’_fororder_Nepali News 4

जाडोयाममा दाङको देउखुरीको राप्ती नदी क्षेत्रमा देखा पर्ने लोभीपापी गरुड यस वर्ष भने देखा परेको छैन। विश्वमै दुर्लभ ठानिएको गरुड प्रत्येक जाडोयाममा राप्ती नदी क्षेत्रमा देखा पर्दै आएको गोरखापत्र अनलाइनले लेखेको छ।

लोभीपापी गरुड नेपाल, भारत, इन्डोनेसियाको रैथाने चरा हो। पाँच वर्षदेखि यस क्षेत्रमा जलपक्षी गणना गर्दै आउनुभएका चिरञ्जीवी खनालका अनुसार यो वर्ष जलपन्छी गणनाका क्रममा लोभीपापी गरुड देखिएन। लोभीपापी गरुड लोपोन्मुख अवस्थामा सूचीकृत गरिएको पन्छी हो। खनालका अनुसार यो वर्ष कालो गरुड एउटा मात्र भेटिएको थियो। गत वर्ष देखिएको जुरे हुटिट्याउँ र खोयाँ हाँस पनि यो वर्ष देखिएन।

वेटल्यान्ड इन्टरनेसनलको संयोजनमा हिमाली प्रकृतिको समन्वयमा मुलकभर पानीचरा गणनाको काम भएको थियो। देउखुरी क्षेत्रमा संयोजन गर्दै आउनुभएका खनालका अनुसार राप्ती नदीमा भालुवाङबाट सुरु गरिएको पहिलो चरणको गणना महदेवा पुलसम्म गरिएको हो। दोस्रो चरणमा लमहीको मध्यनगर घाटदेखि, लमही - गढवा जोड्ने राप्ती पुलसम्म गरिएको हो। उहाँका अनुसार यो पटकको गणनामा रिहारमा बनेको नयाँ तालमा समेत केही चरा देखिएको छ। जखेरा ताल, चरचरे तालमा भने चराको देखिएन। गणनामा खोले हुटिट्याउँ, जलेवा, डुबुल्की चरा, सिलसिले र सुनजुरे हाँसजस्ता चरा पनि भेटिएका छन्।

पछिल्लो समयमा नदीजन्य पदार्थको सङ्कलन र नदी तटमा तटबन्धनको काम भइरहेको हुँदा चरा नआएको हुन सक्ने उहाँले बताउनुभयो। रिहारमा बनेको नयाँ सिमसारमा चरा देखिनु पर्यापर्यटन र अनुसन्धानकर्ताका लागि सुखद कुरा भएको समेत उहाँको भनाइ छ। पछिल्लो समय दाङ उपत्यकामा कृत्रिम ताल बन्न थालेपछि चराको आकर्षणसमेत बढ्न थालेको चरा गणना गर्दै आउनुभएका पर्यावरणकर्मी डिल्लीबहादुर रावतले बताउनुभयो।