फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा चिनियाँ फोटो प्रदर्शनी

(GMT+08:00) 2013-10-25 18:10:36

         काठमाडौंमा पैचिङको सामाजिक तथा साँस्कृतिक जनजीवन सम्बन्धी फोटो प्रदर्शनी गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा पैचिङ एनजिओ एशोसिएसनको संयुक्त आयोजनामा सो फोटो प्रदर्शनीको आयोजना गरिएको हो । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालमा आज आयोजित फोटो प्रदर्शनी समुद््घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रतिष्ठानका कुलपति प्राज्ञ किरण मानन्धरले प्रचीनकालदेखि प्रगाढ नेपालचीन मैत्रीलाई कलाकारिता र फोटोग्राफीको माध्यमबाट चीनसँगै मिलेर जाने नेपाली कलाकारहरुको अभिलाषा भएको बताउनुभयो । नेपाली कलाकारहरुले केहि समयपहिले गरेको चीन भ्रमणको स्मरण सुनाउनुहुँदै कुलपति मानन्धरले चीनले कला, साहित्य, संसृति, विज्ञान प्रविधि लगायतका क्षेत्रमा गरेको प्रगति साथै चिनियाँ कलाकारहरुले कलाकारिताका क्षेत्रमा प्राप्त गरेका नयाँ र अनौठा उपलब्धिहरुबाट नेपाली कलाकारहरुले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । समारोहमा बोल्नुहुँदै पैचिङ महिला महासंघका सह काउन्सेल चाओ चीङले ऐतिहासिक कालदेखि प्रगाढ नेपाल चीन मैत्रीलाई शैक्षिक तथा साँस्कृतिक कार्यक्रमहरुको माध्यमबाट जनस्तरसम्म विकसित गर्ने उद्देश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । यस पटकको प्रदर्शनी सानो भएपनि भविष्यमा पैचिङ महिला महासंघले नेपालका कलाकारहरुसँग मिलेर ठूला कार्यक्रम समेत गर्ने जानकारी दिनुहुँदै चाओ चीङले दुवै मुलुकबीचका कलाकारहरुले एक अर्कालाई राम्ररी बुझ्न र सिक्न भ्रमण आदान प्रदान कार्यक्रमको आयोजना हुनुपर्नेमा जोडदिनुभयो । साथै सह काउन्सेल चाओ चीङले चिनियाँ फोटो प्रदर्शनीका लागि यथेष्ट सहयोग पुर्याउने नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र नेपाल चीन शैक्षिक तथा साँस्कृति परिषद्लाई हार्दिक धन्यवाद समेत दिनुभयो । कार्यक्रममा बोल्नुहुँदै नेपाल चीन शैक्षिक तथा साँस्कृति परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र शाहले दुई देशबीचको सम्वन्धलाई जनताको तहसम्म पुर्याउन र चिनियाँ जनताको जनजीवनबारे बुझ्न फोटो प्रदर्शनी महत्वपूर्ण भएको बताउनुभयो । साथै अध्यक्ष शाहले फोटो प्रदर्शनी र नेपाली कलाकार तथा चिनियाँ कलाकारहरुबीचको सम्वन्ध विस्तारकालागि पैचिङ एनजिओ एशोसियनका पदाधिकारीहरुलाई नेपाल ल्याउने परिषद्को प्रयास सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

        सो प्रदर्शनीमा चीनको राजधानी पैचिङका सामाजिक, साँस्कृतिक, ललितकला, चित्रकला, पर्यावरण, बाल तथा बृद्ध स्वास्थ्य एवम् जनस्वयंसेवा सम्बन्धी विविध गतिविधि झल्कने 60 वटा फोटोहरु राखिएको छ । यसैबीच नेपाल भ्रमणमा रहेको पैचिङ एनजिओ एशोसिएसन र पैचिङ महिला महासंघका 5 सदस्यीय प्रतिनिधिमण्डलले स्वयम्भूनाथ, हनुमानढोका दरवार, भक्तपुर तथा ललितपुर दरवार क्षेत्र र भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह