फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अजयको अगस्ट दुईको डायरी

(GMT+08:00) 2011-08-05 19:47:30

               हिजो हामी दुई वटा होटलमा छुट्टिएर बस्नु परेको थियो । सो कारण आज बिहानको नास्ता पछि एउटै होटेलमा सर्‌यौं । हिजो बसेको होटलबाट राति पोताला दरबारको पछाडितिरको भागमा बत्तीको प्रकाशमा निकै राम्रो देखेको थियो भन्दै थिए केही साथीहरूले । तर आफ्नो कोठा त्यतातिर नभएकोले हेर्न पाएन । र आज सरेको होटेलबाट र मेरो कोठाबाट पोताला दरबारको अघिल्लो भाग देखिन्छ ।अहिले यो लेखुन्जेल त्यहाँ बत्ती बालेको छैन र साथै पानी परिरहेको कारणले पनि शायद स्पष्ट देखिंदैन होला। तर आज त्यहीं पुगेर आएको छु । पोताला दरबार भित्र घुमेर आएको छु । त्यसकारण यहाँ परबाट नियाल्न आवश्यक छैन । तापनि म पछि पनि चियाउने छु । त्यो दृश्यलाई पनि पाएसम्म आफ्नो मन मस्टिष्कमा कैद गर्ने छु ।

              आज म लगायत हाम्रो सिआरआइ मण्डल सबै जना दिवा भोजपछि पोताला दरबारको अवलोकनमा गयौं । होटेलबाट गाडिमा करिब दश मिनेटको दूरिमा हामी पोताला दरबारको चोक पुग्यौं । बाटैमा अरनिकोले बनाएको स्तुपा गाडिबाट मात्रै हेर्ने अवसर जुट्यो । त्यही तल चोक सडकमा बसी फोटो खिच्यौं । सानै बेलादेखि सुनेको नाम थियो पोताला दरबार र आज म त्यसैको मुन्तिर हिँडे दरबार भित्र गएं । त्यहाँभित्र गई एउटा ऐतिहासिक पूरातात्विक महत्वका साथै आज भन्दा 1300 वर्ष अघि हामी जस्तै मानिसले निर्माण गरेको र आजसम्म र भोलिका पुस्तालाई समेत एउटा जिउंदो इतिहासको रुपमा खडा रहने ठाउं वातावरण र दरबारलाई आफ्ना यी दुई नयनले छुन पायो ।

             पहाडमा बनाएको दरबार चढ्न अवश्य पनि उक्लनै पर्छ । त्यही अनुरुप धेरै खुड्किला उक्ले । हरेक पटकको पाइलासँगै मनमा खुशी थपेको थियो । बाहिरको धेरै खुड्किला उक्लंदै र पर्खाललाई छुँदै बल्ल पछि ढोका भित्र प्रवेश गर्यौं । त्यहाँका सिंढी पनि उक्लेपछि एउटा चोक देखा पर्यो। हामी त्यहाँ केही क्षण बसेर फोटो खिच्यौं । र त्यहींको एक कोठामा पोताला दरबारका एक पदाधिकारीसँग पोताला दरबारको बारेमा हाम्रा प्रतिनिधी मण्डल लगायत मैले पनि केही प्रश्न तथा जिज्ञासा राख्यौं । या भन्दा अन्तर्वार्ता लियौं। यसै बेला केही साथीले पोताला दरबार घुम्न नपाउने भयो भन्दै चिन्ता लिएका थिए । नहोस् पनि किन अन्तर्वार्ता सकिँदा घडीले पाँच देखाएको थियो । तर हाम्रो लागि विशेष व्यवस्था गरियो र हामी सबै जनाले मात्र हामी सिआरआइ प्रतिनिधी मण्डलले प्रवेश गर्न पायौं । प्राय सबै काठबाट निर्मित थियो भने भित्तामा चित्र कोरिएको थियो जुन चित्र हामी थाङ्कामा पाउंछौ । ठाडो भर्याङ्ग उक्लँदै यता उता हेर्दै अगाडि बढ्यौं हामी सबैजना । यहाँ प्रवेश पश्चात नै तस्विर खिच्न मनाही लेखेको देखेका थियौं । त्यसकारण सबैजना अघि अघि बढ्दै थिए र गाइडले जानकारी पनि दिँदै थियो । आफूले चिनियाँ बुझ्ने होइन । म आफ्नै सुरमा यता उता हेर्दै हिँडे। कता कता गाउंघरको घर सम्झें । यहाँ भूइँमा पनि काठ थियो । र उक्लँदै माथि कौसीमा पुगें। यसबेलासम्म मेरो पछाडि केही साथीहरू थियो । यहाँबाट भनें म हराएं । कौसीको दायाँ कोठामा प्रवेश गरेपछि बुद्ध देवी देवताको ठुल्ठूल्ला मूर्तिहरू देखें ।

               त्यतै नजिकमा दलाई लामाको शयन कक्ष भएको जानकारी पाएं । तर त्यस कोठामा भने प्रवेश निषेध थियो । दायाँ भागको भ्रमण पछि बायाँ भागको कोठामा प्रवेश गर्‌यौं । त्यहाँ भित्र पस्नासाथ तीनवटा ठुलै थियो सुनको अष्ठमण्डला देखें । बाल्यकालदेखि सुन्दै आएको उखान ल्हासामा सुन छ कान मेरो बुच्चै सम्झें । त्यस्तै धेरै कोठामा अनगिन्ती मूर्ति तथा लिपीहरू देखें । त्यस्तै त्यहाँ भिक्षुहरूले सिलाई बुनाई गर्ने एउटा कोठा पनि रहेछ । र मनमा गडेको कुरा भनेको त्यहाँ राजा स्रङ्गचङ्ग गम्पोको ध्यान गर्ने कोठामा स्रङ्गचङ्ग गम्पो सहित नेपालकी छोरी भृकुटीको पनि मूर्ति थियो । जुन आफूले पढेको सुनेको मात्रै हो । यहाँ मूर्तिमा नै भए पनि उनको रुप हेर्न पाएं । त्यसै गरी सुन्दै आएको उखान ल्हासामा सुन छ कान मेरो बुच्चै चरितार्थ भएको पनि पाएं । एक त अघि नै देखेको सुनै सुनको तीन विशाल मन्दिर स्वरुपको अष्ठमण्डला । र अर्को भनेको देहावसान भएका दलाई लामाहरूको चिहान माथि बनाएको स्तुपा जुन सुनबाट निर्मित र हजारौं पत्थर जवाहरात जडित छ। भनिन्छ 6 हजार किलो सुनको प्रयोग भएको छ त्यस किसिमका बस्तुको निर्माणमा । यी सबैको अवलोकन पछि घुम्नै पर्ने हेर्नै पर्ने एक ठाउंको भ्रमण गरें । र यो कुरा म रहेसम्म मसँगै हुनेछ त्यस बाहेक यी कुराहरू म मेरा साथीभाइ आफन्त मेरै परिवार र छोरीलाई पनि सुनाउने छु जसबाट पोताला दरबारको महत्व यसको संरचना बारे थाहा पाउने छन् । साथै मैले देखेका हेरेका कतिपय कुरा आज वर्णन गर्न सकिन होला त्यो पनि मसँग त हुने नै छ र कुनै समयमा ती कुरा पनि उठ्नेछ ।

               भर्खरै झ्यालबाट चियाएको देखें बत्तीको प्रकाशमा पोताला दरबार ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह