फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपत्यकामा सफल भएपछि 'नो हर्न' उपत्यकाबाहिर पनि

(GMT+08:00) 2017-05-05 14:34:57

काठमाडौं उपत्यकामा वैशाख १ देखि लागू गरिएको 'नो हर्न'को ब्यवस्था प्रभावकारी देखिएसँगै अब यो नियम उपत्यकाबाहिर पनि लागू गर्ने तयारी गरिएको अनलार्इनखबरले लेखेको छ।

साथै जेठ १ देखि जथाभावी बाटो काट्नेलाई २ सय रुपैयाँ जरिवाना गर्न तयारी थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरीका अनुसार अनावश्यक हर्न बजाउने क्रम निकै घटेको छ। काठमाडौंमा अनावश्यक रुपमा हर्न बजाउने क्रम लगभग नियन्त्रणमा आएको र आवश्यक हर्न बजाउनेलाई कारवाही नगरिएको बताएको छ।

अनावश्यक हर्न नियन्त्रणमा काठमाडौंका प्राप्त सफलतालाई ध्यानमा राखेर उपत्यकाबाहिरका शहरी क्षेत्र र राजमार्गहरुमा यो ब्यवस्था गर्ने योजना बनाइएको यातायात ब्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले हर्न निषेध गरेपछि दुर्घटना बढ्छ भन्ने अड्कलबाजी पनि गलत सावित भएको दाबी गरे। दुर्घटना र हर्नको ठूलो सम्बन्ध नरहेको बताउँदै उनले दुर्घटना हुने अवस्था छ भने हर्न बजाउन नरोकिएको स्पष्ट गरे।

अहिले दैनिक सयभन्दा बढी सवारी अनावश्यक हर्न बजाएका कारण कारवाहीमा पर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ। जबकी नयाँ नियम लागू भएको सुरुवाती दिनमा यो संख्या ४ सयसम्म थियो। हालसम्म अनावश्यक हर्न बजाउने झण्डै ३ हजार सवारी चालक कारबाहीमा पनि परेका छन्। कारवाहीको अभियान थालेपछि काठमाडौंमा हर्नका कारण हुने ध्वनी प्रदुषण ९० प्रतिशतले घटेको दाबी ट्राफिक प्रहरीको छ।

अहिले उपत्यकामा अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरीले ५ सय रुपैयाँसम्म जरिवाना गर्छ। यस्ता कारवाहीको रेकर्ड पनि राखिन्छ। दोस्रोपटक पनि हर्न बजाएको भेटिए १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ। तेस्रोपटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना गरिने ट्राफिक प्रहरीले बताएको छ।

नो हर्न लागू भएसँगै ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने यात्रुविरुद्ध पनि कारवाहीको अभियान सुरु गर्ने तयारी गरेको छ। जेठ १ देखि जथाभावी बाटो काट्नेलाई २ सय रुपैयाँ जरिवाना गर्न ट्राफिकले तयारी थालेको छ।

जानकारी तथा लेखहरु