फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा होटल तथा रेस्टुराँमा बैंकहरूको लगानी बढ्दै

(GMT+08:00) 2017-07-20 18:21:32

नेपालमा पर्यटन क्षेत्रमा नयाँ कम्पनी थपिएसँगै बैंक तथा वित्तीय संस्थाको यस क्षेत्रमा लगानी पनि बढ्न थालेको छ। देशमा राजनीतिक वातावरण सुध्रिँदै गएपछि व्यवसायले गति लिने विश्वासका साथ होटललगायतका पर्यटकलाई सेवा दिने कम्पनी खुल्न थालेपछि बैंकका लागि पनि लगानीको आकर्षक क्षेत्र बन्न थालेको कारोबार अनलाइनले लेखेको छ।

062/63 सालको राजनीतिक परिवर्तनसँगै नेपालमा पर्यटकीय क्षेत्रमा नयाँ–नयाँ कम्पनी आएका छन्। पछिल्लो समयमा पाँचतारे होटलदेखि, रिसोर्ट, साना होटल, तथा रेस्टुराँहरू खुल्ने क्रम बढेसँगै बैंकहरूको लगानी पनि बढ्दै गएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच वर्षमा बैंक तथा वित्तीय संस्थाको पर्यटन क्षेत्रमा प्रवाह हुने ऋण साढे 3 गुणाले वृद्धि भएको छ। 070 जेठसम्म यस क्षेत्रमा बैंकहरूको 18 अर्ब कर्जा दिएकोमा 074 जेठसम्म आइपुग्दा कर्जा बढेर 62 अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये 49 अर्ब 51 करोड होटल व्यवसायमा र 12 अर्ब 51 करोड रिसोर्ट, ¥याफ्टिङ, माउन्टेनिङलगायतका पर्यटक लक्षित व्यवसायमा भएको छ।

एक वर्षको अवधिमा पर्यटन क्षेत्रका बैंकको लगानी 12 अर्ब रुपैयाँ थपिएको छ। 073 जेठसम्म यस क्षेत्रमा 50 अर्ब 41 करोड रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ।

पछिल्लो समयमा पर्यटन व्यवसायलाई कर्जा लगानीको मुख्य क्षेत्रका रुपमा लिइएको बैंकरहरू बताउँछन्। सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले होटल तथा रेस्टुराँका साथै पर्यटकीय पूर्वाधार विकासमा बैंकहरूले प्राथमिकता दिएर लगानी गरेको बताउनुभयो।

"पर्यटनलाई लगानीको आकर्षक क्षेत्रका रूपमा हेरेका छौं," गुरुङले भन्नुभयो, "अझै राजनीतिक स्थायित्व नभएकाले हाम्रो अपेक्षाअनुसार कर्जाको माग आएको छैन।" पछिल्लो समयमा स–सानो रेस्टुराँदेखि, भिलेज रिसोर्ट, तारे होटलका लागि कर्जा माग भइरहेको उहाँको भनाइ छ।

विगतमा द्वन्द्वका कारण पर्यटन व्यवसायमा आएको मन्दीसँगै विगतमा ठूला–ठूला होटलसमेत बन्द भएका थिए। पछिल्लो राजनीतिक परिवर्तनसँगै राजनीतिक स्थिरता आउने र पर्यटक व्यवसायले पुनः गति लिने विश्वासका साथ लगानी बढ्न थालेको हो।

राजनीतिक स्थिरतासँगै पर्यटन व्यवसायले गति लिने आशा सहित होटलहरूमा लगानी थपिने क्रम जारी रहेको र बैंकहरूले पनि यस क्षेत्रको लगानीमा प्राथमिकता दिएको व्यवसायी बताउँछन्।राष्ट्र बैंकका अनुसार 074 जेठसम्म बैंक तथा वित्तीय संस्थाले 22 खर्ब 92 अर्ब निक्षेप संकलन गरी 19 खर्ब 66 अर्ब रुपैयाँ लगानी गरेका छन्।

तर, बैंकहरूले अझै राष्ट्र बैंकले तोकेको अनुपातमा उत्पादनशील क्षेत्रमा लगानी पुर्‍याउन सकेका छैनन्। बाणिज्य बैंकहरूले कुल कर्जाको 20 प्रतिशत तोकिएका उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा 074 जेठसम्म 17.5 प्रतिशत मात्र लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

http://www.karobardaily.com/news/80878

जानकारी तथा लेखहरु