फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सौराहाका होटल तथा रेस्टुरेन्टमा आचारसंहिता

(GMT+08:00) 2017-11-21 17:34:16

चितवनको सौराहाका होटल तथा रेस्टुरेन्टमा नयाँ आचारसंहिता लागू हुने भएको छ। पर्यटकको सुविधालाई मध्यनजर गर्दै मंसिर ७ गतेबाट १६ बुँदे आचारसंहिता लागू गर्न लागिएको कान्तिपुर अनलाइनले लेखेको छ। विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा भएको बैठकमा नयाँ आचारसंहिता बनाएर लागू गर्ने र सौराहालाई व्यवस्थित बनाउने निर्णय भएको हो।

क्षेत्रीय होटल संघका अनुसार सौराहामा रहेका रेस्टुरेन्ट तथा पसल जाडो मौसम कात्तिकदेखि फागुनसम्म रातको ११ बजेसम्म मात्र र अन्य समयमा १२ बजेसम्म खुल्नेछन्। हात्ती महोत्सव, फुड फेस्टिबल र नयाँ वर्षमा भने यो नियम लागू नहुने जनाएको छ। त्यस्तै, ध्वनि प्रदूषण नियन्त्रण गर्न पर्यटन क्षेत्रभित्र रहेका होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीले साउन्डको व्यवस्था गर्दा मानव तथा जनावरहरूलाई असर नगर्ने गरी गर्नुपर्ने नयाँ आचारसंहितामा व्यवस्था गरिएको छ। तर, राति १० बजेभित्र अनिवार्य रूपमा बन्द गर्नुपर्ने संघले जनाएको छ।

'पर्यटकहरूबाटै सौराहामा क्राउड बढी भयो, यसलाई नियन्त्रण गर्नुपर्ने सुझावहरू आए,' संघका अध्यक्ष सुमन घिमिरेले भन्नुभयो, 'हाम्रा लागि सहज वातावरण बनाउन र पर्यटकलाई सुविधा दिन यस्तो निर्णय गरेका हौं।' उहाँले सबैको सहमतिमा निर्णय गरिएको बताउनुभयो। सौराहा आउने स्थानीय तथा पर्यटकहरूले यातायातका साधन प्रयोग गर्दा ध्वनिरहित हुनुपर्नेछ। होटल, रेस्टुरेन्ट तथा पसलहरूमा राखिएका जेनेरेटर असर नगर्ने गरी व्यवस्थापन गर्नुपर्नेछ।

सौराहाभित्र टयाक्टर, ट्रिपर तथा निर्माण सामग्री बोक्ने साधनहरूलाई बिहान १० बजेदेखि ३ बजेसम्म मात्र प्रवेश खुला गरिने संघले जनाएको छ। चरा, हात्ती र गैंडा चोक तथा राप्ती बगरको सिमानामा प्रहरी बिट राख्ने र त्यसका लागि आवश्यक समन्वय गरिने अध्यक्ष घिमिरेले बताए। घुम्न आउने पर्यटकहरूलाई बाटो तथा सार्वजनिक स्थानहरूमा हात दिई अनावश्यक रूपमा रोकेर कुनै पनि पर्यटकीय गतिविधि हात्ती, जिप र रुम बेच्न पाइने छैन।

त्यस्तै स्कुल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई ड्रेसमा आए रुम उपलब्ध नगराउने तर अभिभावकसहित आएमा मात्र उपलब्ध गराउने नियम बनाइएको छ। होटल तथा रिसोर्टहरूमा पर्यटक आउँदा सबै व्यवसायीहरूले पर्यटकका लागि परिचय खुल्ने प्रमाण राख्नुपर्नेछ।

'सौराहा आउँदै गरेका पाहुनालाई बाटैमा रोकेर मनपरी पैसा लिएर होटल तथा रिसोर्टमा लग्ने प्रवृत्ति बढयो,' रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल सौराहाका अध्यक्ष गोकर्ण गिरीले भने, 'त्यस्तै पर्यटकीय क्षेत्रभित्र मध्यरातमा समेत मनपरी हर्न बजाउँदै सवारी साधन चलाएर ध्वनि प्रदूषण बढेपछि सबैको सहमतिमा आचारसंहिता बनाएर लागू गर्न लागिएको हो।' उनका अनुसार सञ्चालनमा ७२ वटा रेस्टुरेन्ट रहे पनि दर्ता हुनेको संख्या ५२ वटा छ। त्यस्तै १ सय १० वटा होटल तथा रिसोर्ट सञ्चालनमा छन्।

आचारसंहिताअनुसार होटल तथा रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरूका लागि व्यवस्थापकहरूले अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्नेछ। स्विमिङ पुलमा लाइफ ज्याकेट तथा उद्दार सामग्रीहरूको व्यवस्था र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र अनुमतिबिना ड्रोन उडाउन पाइने छैन। हात्ती, जिप सफारी तथा जंगल वाकलगायत सफारीमा जाँदा प्लास्टिकमा राखिएका कुनै पनि खाद्य सामग्री लग्न पाइने छैन। सौराहालाई पुस १ गतेबाट हर्न निषेधित क्षेत्र घोषणा गरिने अध्यक्ष घिमिरेले बताउनुभयो।

जानकारी तथा लेखहरु