फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लामो प्रयासपछि नेपाललाई थप ४ हवाईमार्ग उपलब्ध गराउन भारत सहमत

(GMT+08:00) 2018-06-17 15:00:41
नेपालको लामो प्रयासपछि अन्ततः भारतले थप ४ हवाईमार्ग उपलब्ध गराउने भएको छ । नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीन दिने छलफलपछि महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र वीरगन्जबाट पनि नेपाल आउने जहाजलाई प्रवेश दिन भारत सहमत भएको हो। हाल भारतीय आकाशमार्ग हुँदै आएका जहाजले सिमरा बिन्दुबाटमात्र प्रवेश पाउँथे।

भारतले लामो समयदेखि नेपाललाई थप हवाई प्रवेशमार्ग दिने भनिए पनि विभिन्न बहानामा अड्काउँदै आएको थियो। गत वैशाखमा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा दुई देशबीच नेपाललाई थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने सहमति बनेको थियो। सोही सहमति कार्यान्वयनका लागि भएको हवाई अधिकारीबीचको छलफलले थप ४ हवाई प्रवेशमार्ग दिन सहमत भएको कारोबार अनलाइनले लेखेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतले उडान सुरक्षाको अध्ययनपछि नेपाललाई यी हवाई मार्ग उपलब्ध गराउनेछ। द्विपक्षीय छलफलमा सहमति भए पनि केही विषयमा भने अध्ययन जरुरी देखिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठका अनुसार द्विपक्षीय छलफलमा भारतीय अधिकारीले जनकपुर–पटनाबीचको एकतर्फी हवाई मार्गलाई दुईतर्फी बनाउन सहमत भएका छन्। यस्तै, महेन्द्रनगर हुँदै कम उचाईमा उडान गर्ने वायुयानका लागि हाल सञ्चालनमा रहेको काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउन दुबै पक्षको सहमतिमा उडान सुरक्षा मूल्यांकन गरी लागू गरिने छ।

जानकारी तथा लेखहरु