फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन पठाइने नेपालका एकसिंगे गैँडा तयारी अवस्थामा

(GMT+08:00) 2018-06-17 15:01:36
नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् । वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार ती गैँडा एक वर्ष नौ महिनादेखि दुई वर्षभित्रका छन्। भालेलाई निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट नियन्त्रणमा लिई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा पिट बुमा निर्माण गरी राखिएको छ।

यही असार १३ देखि १५ गतेभित्र चीनमा रहेको साइटिस टोली नेपाल आउँदैछ। चिनियाँ अधिकारीले खोर बनाउन भनेपछि गैँडालाई राखेर पठाइने चार थान खोर बनाउने काम शुरु गरिएको र एक हप्ताभित्र खोर बनिसक्ने बताइएको छ। संरक्षण कोषको परिसरमा दुई जोडी गैँडा छन्। अर्को एक जोडीको नामकरण गरिएको छैन। अर्को जोडी गैँडालाई साउनको पहिलो साता चीन पठाइने तयारी छ।

ढकालले चिनियाँ टोली समयमा आउन नसक्दा प्रधानमन्त्रीसँगै गैँडा पठाउन नसकिएको बताउनुभयो। दुई जोडी गैँडा मानिससँग घुलमिल गर्न थालेको र दिउँसो पालैपालो खुला खोरमा राख्न थालिएको छ। दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिनुभएको थियो। चितवन राष्ट्रिय निकुञ्जले गत वैशाख दोस्रो साता तीन गैँडा नियन्त्रणमा लिएको थियो भने एउटा गैँडा बाढीले बगाउँदा यसअघि नै उद्धार गरी राखिएको थियो।

जानकारी तथा लेखहरु