|
|
|
||
रेल विभागका बरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायकाअनुसार यो रेलमार्ग करिब ७२.२५ किलोमिटरको हुनेछ। यसअनुसार एक किलोमिटरमा सरकारले ३ अर्ब ५५ करोड खर्चिनुपर्ने अवस्था देखिएको उपाध्यायले बताउनुभयो।
यो रेलमार्गमा सजिलो भुगोल नपर्ने भएकाले झण्डै ९९ (९८.५५) प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्नेछ। चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको रिपोर्टमा यो विषय उल्लेख छ।
रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको थियो। गत वैशाखको अन्तिम साता यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डल सम्भाव्यता अध्ययन गर्नेबारे सम्झौता गरेर फर्किएको थियो। त्यसलगत्तै जेठबाटै चिनियाँ टोली अध्ययनका लागि नेपाल आएर काम सुरु गरेको थियो।
भौगोलिक कठिनाइ रहेकाले रिपोर्टले प्राविधिक रुपमा अधिकांश क्षेत्रमा पुल र टनेल निर्माण गर्न सिफारिस गरेको छ। यसअघि स्थलगत अध्ययनमा आएको चिनियाँ टोलीले केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग निर्माण सम्भव रहेको बताइसकेको थियो।
चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याइसकेको छ। हाल चीनतर्फ ल्हासा-सिगात्से रेलमार्ग निर्माणाधीन छ। र, त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि भइरहेको छ।
उक्त मार्गलाई चीनको सहयोगमा काठमाडौंसम्म जोड्ने योजना छ। अब दुई सरकारका बीचमा रेलमार्ग कुन लगानी मोडालिटीमा बनाउने भन्नेबारे छलफल हुनेछ। चीनले सहुलियत ऋणमा रेलमार्ग बनाउने इच्छा देखाएको छ। नेपालले भने अनुदानमै आयोजना बनाइदिन आग्रह गरेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |