फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धान भित्र्याउन कृषक व्यस्त

(GMT+08:00) 2018-10-22 16:59:25

दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ।

खेत खेतमा धान पाकेपछि दशैँ मान्नभन्दा पनि धान काट्न कृषक व्यस्त भएको राससले जनाएको छ। अधिकांश मान्छे टीका थाप्न आफन्तकहाँ गए पनि भक्तपुरका कृषक भने बिहान, बेलुका टीका थाप्न गए पनि दिउँसोको समयमा भने धान काट्न खेत खेतमा पुग्ने गरेका छन्।

यस वर्ष समयमै वर्षा भएकाले धानको उत्पादनसमेत वृद्धि हुने भए पनि असिना, पानी पर्ने डरले कृषकले दशैँको पर्वाह नगरी धान भित्र्याउने चटारोमा लागेका हुन्। पाकेको धान काट्ने चटारो त छ नै त्यसबाहेक कृषकहरू धान काट्नका लागि ज्यामीसमेत नपाउँदा थप समस्यामा परेका छन्।

अहिले भक्तपुर नगरक्षेत्र, चाँगुनारायण नगरपालिकाको चित्तपोल, ताथली, सुडाल, बागेश्वरी, छालिङ, चाँगु, दुवाकोट, सूर्यविनायक नगरपालिकाको गुण्डु, सिपाडोल, नङ्खेल, बालकोट, सिरुटार, दधिकोट र थिमी नगरपालिका क्षेत्रमा धान काट्न चटारो परेको छ।

यस वर्ष असार र साउन महीनाभित्र जिल्लाको सबै क्षेत्रमा धान रोपाइँ सकिएकाले धान पनि चाँडै पाकेको र उत्पादन पनि राम्रो भएको कृषकले बताएका छन्।

जानकारी तथा लेखहरु