फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आयात रोक्न सामूहिक फूलखेती

(GMT+08:00) 2018-10-22 16:59:55

झापा बिर्तामोडका महिलाले सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेका छन्। सामान्य कार्यक्रमदेखि पूजामा समेत प्रयोग हुने सयपत्री फूल र माला भारतबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्य गर्न बिर्तामोड नगरपालिकाका ३५ जना महिलाले सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेको अन्नपूर्णपोस्टले लेखेको छ।

महिला उद्यमी संघकी अध्यक्ष गोमा भट्टराईले महिलाको समूह गठन गरेर खेती थालिएको र अघिल्लो वर्ष सामान्य उत्पादन भएको फूलले नै बजार राम्रो पाएपछि यो वर्ष एक बिघा जमिनमा फूलखेती गरेको बताइन्।

हाल दैनिक दुई सयदेखि तीन सय हाराहारीमा सयपत्री फूलका माला बिक्री हुने उनीहरू बताउँछन्। कुनै विषादीको प्रयोग नगरी शुद्ध अर्गानिकखेती पद्धतिमार्फत फूलखेती गरेकाले पनि भारतबाट आयात गरिएभन्दा आफूहरूले उत्पादन गरेको फूलको माग बढिरहेको अध्यक्ष भट्टराईले बताइन्।

समूहको लक्ष्य नै भारतबाट माला र फूलआयात घटाउनु रहेको र पहिले झापाको मुख्य बिर्तामोड क्षेत्रमा भारतको आयत घटाउँने र बिस्तारै झापासहित अन्य जिल्लामा पनि यहाँकै फूल र माला पुर्‍याउने लक्ष्य रहेको पनि बताइन्।

फूलखेती गर्न महिलालाई बिर्तामोड नगरपालिकाले तालिम दिएर सहयोग गरेको थियो। भारतको कोलकात्ताबाट पहिलोपटक सयपत्री फूलको बीउ ल्याएर रोप्न सुरु गरेका महिलाले अहिले आफै बीउ पनि उत्पादन गर्दै आएका छन्। बीउ र लिजमा लिएको जग्गाको मूल्य जोड्दा वर्षमा एक लाख ४० हजार मात्र खर्च हुने समूहको भनाइ छ।

उनीहरूले उत्पादन गरेको सयपत्री फूलको माला प्रतिगोटा ४० देखि ६० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ। सयपत्री फूललाई बाह्रै महिना फूलाउन सकिने भएकाले सिजन–सिजनमा यसलाई रोप्ने गरिएको छ। बीउ रोपेको पाँच महिनामा यसले उत्पादन दिन सुरु गर्ने जनाइएको छ। आगामी वर्ष यसलाई अझ बढाएर ४–५ बिघा बनाउने लक्ष्य राखेको अध्यक्ष भट्टराईको भनाइ छ।

जानकारी तथा लेखहरु