फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशूली थ्री एको विद्युत् असारमा

(GMT+08:00) 2018-12-31 14:20:35

चिनियाँ कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले असारसम्ममा विद्युत् उत्पादन गर्ने गरी निर्माणमा तीव्रता दिएको छ।

रसुवामा बाँध र नुवाकोटमा विद्युत्गृह रहेको आयोजनाको क्षमता ६० मेगावाट छ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको यो आयोजना रन अफ रिभर प्रणालीमा आधारित छ। अहिले विद्युत्गृह, बाँधस्थल, बालुवा थिग्राउने र पानी बग्ने क्यानल निर्माणको काम धमाधम भइरहेको कान्तिपुर अनलाइनले लेखेको छ।

आयोजनाले अहिलेसम्म करिब ९० प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ। आयोजनाका अनुसार सिभिलतर्फ ९५ प्रतिशत, इलेक्ट्रो मेकानिकलतर्फ ३५ र हाइड्रो मेकानिकलतर्फ ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ।

आगामी असारसम्ममा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले बताउनुभयो। 'सबैको साथ र सहयोग भए चालु आर्थिक वर्षको अन्तिममा विद्युत् उत्पादन गर्न सकिन्छ,' उहाँले भन्नुभयो, 'मुख्य सुरुङ मार्गमा कंक्रिट लाइनिङ गर्ने काम पनि धमाधम भइरहेको छ।' ४ हजार १ सय मिटर लामो मुख्य सुरुङ मार्गमा कंक्रिट लाइनिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ।

आयोजनाको मुख्य सुरुङ मार्ग २०७४ भदौमै ब्रेकथ्रु भएको हो। आयोजनाको निर्माण कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले काम गरिरहेको छ। सन् २०११ मा आयोजना निर्माण सुरु भएको हो। २०७२ वैशाख १२ को भूकम्पका कारण आयोजनामा क्षति पुगेको थियो। करिब २२ महिना आयोजना बन्दभएको थियो।

भारतले गरेको नाकाबन्दी र बिनाशकारी भूकम्पका कारण आयोजनाको निर्माण तालिका प्रभावित भए पनि आयोजनाको लागत भने नबढ्ने जोशीले बताउनुभयो। (ईपीसी) मोडेलमा आयोजनाको निर्माणकार्य भइरहेको छ। चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको उक्त आयोजनाको कुल लागत १२५ मिलियन अमेरिकी डलर (१३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयाँ) रहेको छ।

निर्माणतालिका प्रभावित भएपछि नेपाल विद्युत् प्राधिकरणले आयोजनाको म्याद २०७६ को वैशाख १७ सम्मका लागि थपेको छ। असार अन्तिमसम्ममा दुईवटा टर्बाइनबाट ३०–३० गरी ६० मेगावाट विद्युत् उत्पादन हुने आयोजानले जनाएको छ। उत्पादित विद्युत् थ्री बी हबदेखि मातातीर्थ सबस्टेसनसम्म करिब ४४ किलोमिटर लामो २२० केभी प्रसारण लाइनमार्फत लगिनेछ।

प्रसारण लाइनका लागि १ सय ४० वटा टावर निर्माण गर्नुपर्नेमा अहिलेसम्म १ सय ३९ वटा निर्माण भइसके पनि मुअब्जाका कारण थ्री बी नजिकै रहेको टावर अहिलेसम्म निर्माण हुन सकेको छैन। विद्युत् उत्पादन समयमै भए पनि प्रसारण लाइन समयमै निर्माण हुन सकेन भने उत्पादन भएको विद्युत् खेर जाने सम्भावना छ।

जानकारी तथा लेखहरु