फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा हवाई यात्रुको संख्या उल्लेख्य रुपमा वृद्धि

(GMT+08:00) 2019-01-01 14:26:43

नेपालमा हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् २०१८ को १० महिनामा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ ५८ लाख ४३ हजार हवाई यात्रु पुगेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सव कार्यक्रममा महानिर्देशक सञ्जीव गौतमले हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिनु भएको कारोबार अनलाइनले लेखेको छ।

गौतमका अनुसार आन्तरिकतर्फ २३ लाख ८ सय ५५ हवाई यात्रुले सेवा लिएका छन् भने अन्तर्राष्ट्रियतर्फ ३५ लाख ४२ हजार ५ सय ७८ हवाई यात्रुको संख्या पुगेको छ। जसमा गत वर्षभन्दा आन्तरिकतर्फ १५.४५ प्रतिशतले वृद्धि भएको छ भने अन्तर्राष्ट्रियतर्फ १३.८५ प्रतिशतले बढेका छन्।

सन् २०१८ मा गत वर्षभन्दा आन्तरिक वायुयान आगमनतर्फ २.७३ प्रतिशतले वृद्धि भएको छ भने अन्तर्राष्ट्रियतर्फ २.२० प्रतिशतले वृद्धि भएको छ। अन्तर्राष्ट्रिय कार्गो ढुवानीतर्फ ७.७५ प्रतिशत र आन्तरिक कार्गो ढुवानीतर्फ ९.१२ प्रतिशतले वृद्धि भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का अनुसार सन् २०१८ मा यस क्षेत्रको वृद्धिदर ७.२ प्रतिशत छ।

प्राधिकरण स्थापनाको २० औं वार्षिकोत्सव कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्राधिकरणको सेवा र नियामक निकाय छुट्याइने बताउनुभयो। उहाँले यसमा कर्मचारीहरूसँग छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै यसमा विरोध नगर्न आग्रह गर्नुभएको छ। हवाई सुरक्षामा कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै मन्त्री अधिकारीले युरोपियन युनियन (ईयु) को कालोसूचिबाट हट्न कुनै पनि कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ। प्राधिकरणका कर्मचारीहरूले भने चीन, अमेरिका लगायत देशले पनि दुई निकाय नछुट्याइएको भन्दै निकाय छुट्याउँदैमा हवाई सुरक्षामा सुधार नहुने बताए। यता प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले सन् २०१८ विश्वव्यापीरुपमा हवाई सुरक्षाका दृष्टिले चार वर्षयताकै खराब वर्ष रहेको जनाउनुभयो। नेपालमा पनि ठूला दुर्घटना यसै वर्ष भएका थिए।

 

जानकारी तथा लेखहरु