फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँको सहयोगमा काठमाडौँका सम्पदा पुनःनिर्माणले गति लिँदै

(GMT+08:00) 2019-01-03 14:19:54

काठमाडौँको वसन्तपुरस्थित नौतले दरबारसँगै राजधानीका उपत्यकाका सम्पदा पुनःनिर्माणले गति लिन थालेको छ। गोरखा भूकम्प अर्थात् २०७२ वैशाख १२ गते र त्यसपछिको भूकम्पका कारण क्षतिग्रस्त भएका नौतले दरबारको छैटौँ तला भन्दा माथिको भाग, पूर्व र उत्तरपूर्वमा रहेका टावर निर्माण र जीर्णोद्वारको काम चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज (सीएसीएच)ले तीब्र गतिमा गरिरहेको गोरखापत्र अनलाइनले लेखेको छ।

सन् २०१७ अक्टोबरबाट काम थालेको सीएसीएचले ५८ महिनामा सम्पूर्ण काम सम्पन्न गर्नेगरी काम गरिरहेको हनुमानढोका दरबार संरक्षण विकास समितिका प्रवक्ता जयनारायण कार्कीले जानकारी दिनुभयो।

जीर्णोद्धारका क्रममा ललितपुर टावर तल्लो भागदेखि कै जिर्णोद्धारको काम सम्पन्न भइसकेको छ। कीर्तिपुर टावरको आवश्यक मर्मतसम्भार पनि भइसकेको छ। भक्तपुर टावरको जीर्णोद्वारको कार्य ५० प्रतिशत सम्पन्न भइसकेको सीएसीएचले जनाएको छ। उक्त टावरमा अब काठका कामहरू बाँकी रहेका छन्।

पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका जितिसकेपछि बिसं. १८२५ देखि १८३१ का बीचमा नौतले दरबार निर्माण गरेको इतिहास छ। काठका आकर्षक बुट्टासहितका झ्याल ढोका, टुँडालयुक्त सम्पदामा ७५ प्रतिशतसम्म पुरानै काठहरूको पुनःप्रयोग गरिएको छ भने बाँकी नयाँ काठहरूमा पनि पुरानाको जस्तै बुट्टा कुद्ने काम छाउनीस्थित सङ्ग्रहालयको परिसरमा गरिँदैआएको छ।

नौतले दरबारको लागि हाल दैनिक ४० देखि ५० जना सिकर्मीले काठको काम गर्दै आएका छन्।

बसन्तपुरमा नै रहेको गद्दी बैठक र नौतले दरबारकोबीचको भाग पुनःनिर्माण पनि हनुमानढोका दरबार संरक्षण विकास समितिले नै गर्दै आएको छ। त्यसको लागि चालु आर्थिक वर्षमा समितिले करिब ५० लाख रुपियाँ बजेट नियोजन गरेको छ। उक्त भवन निर्माण गर्नु पर्दा केही उत्खनन् कार्य समेत गरिएको समितिका प्रमुख अरुणा नकर्मीले बताउनुभयो।

समितिले तलेजुको आधारपेटी र ती पेटीमा भएका चार ढोकाहरूको पुनःनिर्माण कार्य भइरहेको छ। मन्दिरको छानोको मर्मतको काम सम्पन्न भएको छ भने वरपरका १६ वटा साना मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ।

 

जानकारी तथा लेखहरु