|
|
|
||
नेपाल टेलिकमलाई फोरजी विस्तार गर्न बाटो खुलेको छ। नेपाल सरकारले नेपाल टेलिकमको फोर-जी विस्तारमा परेको गाँठो फुकाएको छ। सरकारले हालै एक पत्रमार्फत नेपाल टेलिकमलाई १२ महिना (एक वर्ष) भित्रै काम सक्ने गरी फोर-जीको ठेक्का सम्झौता गर्न निर्देशन दिएको अनलाइन खबरले लेखेको छ। टेण्डरमा छानिने कम्पनीसँग वार्ता गरी १५ देखि ३३ महिना लाग्ने भनिएको काम १२ महिना भित्रै सक्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले टेलिकमलाई निर्देशन दिएका हुन्।
फोरजी सेवा विस्तारको टेण्डरमा भएको अनियमितताबारे छानविन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक निर्णय लिन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको थियो। अख्तियारमा फाइल पुगेपछि सेवा विस्तारको काम एक वर्ष अल्मलियो।
अब भने सञ्चार मन्त्री गोकुल बास्कोटाले १२ महिनाभित्र काम सक्ने गरी टेण्डरबाट छानिने कम्पनीसँग सम्झौता गर्न टेलिकमलाई निर्देशन दिनु भएको छ। ५ बुँदे पत्र लेख्दै मन्त्रालयले टेलिकमलाई १४ वटा निर्देशनहरु दिएको छ।
अब टेलिकमले मूल्यांकन प्रक्रिया सकाएर सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीसँग १२ महिनाभित्र काम सकाउनुपर्ने गरी सम्झौताको प्रयास गर्नुपर्नेछ। यदि ठेकेदार कम्पनीले १२ महिनाभित्र काम सक्न अस्वीकार गरेमा ३ महिनाभित्र टुंगिने गरी अर्को ग्लोबल टेण्डर गर्न मन्त्रालयले टेलिकमलाई भनेको छ।
यस्तो टेण्डर गर्दा शर्तहरु स्पष्ट रुपमा उल्लेख गर्न र उत्पादक कम्पनीलाई मात्रै सहभागी गराउने व्यवस्था गर्न निर्देशन दिएको छ। मन्त्रालयले फोरजी सेवा विस्तारको जिम्मा लिने कम्पनीले ४ शहरमा फाइभ-जी सेवा पनि सानो स्तरमा सुरु गर्नुपर्ने गरी वार्ता गर्न निर्देश गरेको छ। विराटनगर, काठमाडौं, पोखरा र नेपालगञ्जमा ५-जी सेवा दिने गरी हुने निःशुल्क गर्नुपर्ने कम्पनीसँग शर्त राख्न निर्देशनमा भनिएको छ।
यस्तै फोर-जी सेवा विस्तार भएपछि सबै ठाउँमा भविष्यमा ५ जी सेवा सहजै अपग्रेड गर्न सकिने गरी काम हुनुपर्ने शर्त पनि राख्न मन्त्रालयले टेलिकमलाई निर्देशन दिएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |