फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले निर्यात हुने मुख्य पाँच मुलुकको निर्यात रणनीति बनाउने

(GMT+08:00) 2019-01-07 14:00:18

नेपाल सरकारले निर्यात हुने मुख्य पाँच वटा देशको निर्यात रणनीति तयार गर्न लागेको छ। एउटै राष्ट्रिय रणनीतिको माध्यमबाट विभिन्न देशकसँग व्यापारको 'डिल' गर्दा कठिन हुने हुँदा प्रत्येक देशको छुट्टाछुट्टै रणनीति तयार गर्न लागिएको हो। स्वदेशी वस्तुको निर्यात वृद्धि गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातयोग्य पाँच वटा देशमा निर्यात रणनीति तयार गर्न लागेको छ। मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले मुख्य निर्यातयोग्य पाँच देशका लागि निर्यात रणनीति बनाउने काम भइरहेको जानकारी दिनुभयो।सचिव घिमिरेका अनुसार निर्यात बढाउनका लागि मुख्य पाँच वटा निर्यातयोग्य देशमा निर्यात प्रवद्र्धन गर्नका लागि रणनीति तयार गर्न लागिएको हो। मुख्य निर्यातयोग्य वस्तुको निर्यात प्रवर्द्धन गर्नका लागि सो रणनीति तयार गर्न लागिएको कारोबार अनलाइनले जनाएको छ।

मन्त्रालयका अनुसार नेपालबाट सबैभन्दा धेरै छिमेकी मुलुक भारतमा ५७ दशमलव ४६ प्रतिशत सामान निर्यात हुने गरेको छ। अमेरिकामा ११ दशमलव २७ प्रतिशत, टर्कीमा पाँच दशमलव ७५ प्रतिशत, जर्मनीमा ३ दशमलव ८६ प्रतिशत तथा बेलायतमा तीन दशमलव ५० प्रतिशत सामान निर्यात हुने गर्छ। यस्तै, अर्को छिमेकी मुलुक चीनमा तीन प्रतिशत र इटालीमा एक दशमलव ५७ प्रतिशत सामान निर्यात हुने गर्छ।

मुलुकमा आयात बढ्दै गएपनि सोही अनुरुपमा निर्यात बढ्न नसकेपछि मन्त्रालयले निर्यातयोग्य वस्तुको पहिचान गरेर निर्यात हुने देशको लागि छुट्टाछुटै निर्यात रणनीति तयार गर्न लागिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय मुलुकमा आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न सकेको छैन। स्वदेशी वस्तुको लागत महँगो भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, गुणस्तरयुक्त वस्तु ठूलो परिमाणमा उत्पादन हुन नसक्नुले गर्दा निर्यात बढ्न सकेको छैन। आयात र निर्यातको दर बढ्दै गएकाले मुलुकमा व्यापार घाटा बढ्दै गएको छ। पछिल्लो पाँच महिनामा पाँच खर्ब ६९ अर्बको व्यापार घाटा पुगेको छ। कुल गार्हस्थ्य उत्पादनमा निर्यातको साइज क्रमिक रूपमा घट्दै आएको छ। कुल गार्हस्थ्य उत्पादनमा निर्यातको योगदान सात प्रतिशतबाट घटेर तीन प्रतिशतमा झरेको छ। आयात प्रतिस्थापन गर्न सकिने धेरै वस्तु भएपनि मुलुकमा उत्पादन बढाउन नसक्दा आयात गर्नुपरेको सचिव घिमिरेको भनाइ छ। औषधी, क्लिंकर स्वदेशमै उत्पादन गर्न सकिने भएपनि ठूलो परिणाममा आयात भइरहेको तथ्यांकले देखाएको छ।

विलासिताका सामान बढी आयात भइरहेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने देखिएको छ। मुलुकमा व्यापार घाटा बढाउने मुख्य आधारका रुपमा इन्धन, कृषिजन्य वस्तु र विलासिताका वस्तु रहेका छन्।

व्यापार विज्ञ एवं अर्थविद् डा. पोषराज पाण्डेले चीन र अमेरिकाको व्यापारयुद्धले विश्वमा आर्थिक गतिविधि नै तल झरिरहेका बेला त्यसको प्रत्यक्ष असर नेपालमा पर्न गएको बताउनुभयो। सरकारले स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन गर्नका लागि पहिचान गरेका तुलनात्मक लाभ भएका वस्तुको निर्यात पनि सन्तोषजनक अवस्थामा छैन। चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात १२ प्रतिशतले वृद्धि भएपनि सन्तोषजनक नभएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा बताउनुहुन्छ।

जानकारी तथा लेखहरु