फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानमा नेपालीको रोजगारी सुरक्षित बनाउन नेपालको पहल

(GMT+08:00) 2019-01-08 13:49:20

नेपाल सरकारले जापानको रोजगारीलाई सुरक्षित, पारदर्शी र सर्वसुलभ बनाउन छुट्टै संयन्त्र विकास गर्ने गरी जापानसँग संवाद अघि बढाएको छ । सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा विकृति र ठगी बढ्दै गएको भन्दै जापानको रोजगारीका लागि विश्वसनीय प्रणालीको विकास गरी सोही संयन्त्रभित्र रहेर कामदार पठाउने गृहकार्य सुरु गरेको हो। यसरी बनाएको संयन्त्रले योग्यता, सीप र दक्षताका आधारमा रोजगारीका लागि जापान जाने नेपाली कामदारको छनोट गर्ने छ। छनोट प्रक्रियालाई पारदर्शी बनाउन तेस्रो पक्षको कुनै पनि संलग्नता नहुने गरी प्रणाली विकास गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

नेपाली कामदार छनोटलाई पारदर्शी र निष्पक्ष बनाउने विषयमा दुई मुलुकका प्रतिनिधिबीच सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छलफल भएको छ। श्रममन्त्री गोर्कण बिष्ट र नेपालका लागि जापानी राजदूत मासामिची साईगोबीच नेपाली कामदार पठाउने सम्बन्धमा दुई देशबीचको सहकार्यमा एक संयन्त्र स्थापना गरी युवालाई आर्थिक भार कम गर्ने गरी काम गर्ने सहमति भएको छ। छलफलपछि मन्त्री बिष्टले नेपालका लागि रोजगारीको अवसर मिलाएकोमा आभार व्यक्त गर्दै जापानमा नेपाली कामदार लैजाने विषयमा भर्ना र छनोट प्रणालीलाई पारदर्शी र भरपर्दो बनाउनुपर्ने विषयमा दुवै मुलुकको समान धारणा रहेको बताउनुभयो। श्रम मन्त्रालयमा प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा कामदार छनोट पारदर्शीरूपमा हुने बताउनुभयो। प्रवक्ता रेग्मीले नेपाली कामदार जापान पठाउने विषयको टुंगो लागेको भन्दै नेपाली युवा जापान जाँदा कुनै मध्यस्थकर्ता वा बिचौलियाको ठगीमा नपरुन् भन्ने विषयमा मन्त्रालय सजग रहेको बताउनुभयो।

नेपालका लागि जापानी राजदूत साइगोले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा लैजाने बारेमा जापान सरकारको सकारात्मक धारणा रहेको बताउनुभयो। उहाँले नेपाली युवा जापान पठाउने विधी र प्रक्रियाका सम्बन्धमा काम अघि बढिरहेको जानकारी दिनुभयो।

मन्त्रालयले रोजगारीका विषयमा छलफलका लागि जापानको एक प्राविधिक टोली छिट्टै नेपाल आउने जनाएको छ। जापानी टोलीले नेपालको प्राविधिक समूहसँग छलफल गरी दुवै देशको पारस्परिक हित अनुकूल उपयुक्त विधी, प्रक्रिया र संयन्त्र तयार गरी अपेक्षित समयमै जापान कामदार पठाउने प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने प्रवक्ता रेग्मीले जानकारी दिनुभयो।

जापान सरकारले आफ्नो पछिल्लो निर्णयअनुसार नेपाललाई औपचारिकरूपमै अवधारणा समटेर अवधारण बनाउन अनुरोध गरिसकेको छ। नेपालले आफ्नो अवधारणामा नेपाली कामदारको सुरक्षा, सेवा सुविधा र कानुनी पक्षका विषयमा छलफल गरिरहेको छ। छलफलपछि भएका निर्णय आगामी माघ २ गते नेपाल आउने जापानी प्राविधिक टोली समक्ष पेस गरिने र दुवै देशबीच पुनः छलफल गरी निर्णय लिने जनाएको छ। नेपाल सरकारले सम्पूर्ण तयारी पुरा गरी आगामी वैशाखबाट नेपाली कामदार पठाउने सम्बन्धमा गृहकार्य गरिरहेको छ। जापानी सरकारले कम्तिमा ३ लाख ४५ हजार विदेशी कामदारलाई रोजगारीका लागि आफ्नो देशमा लैजाने निर्णय यसअघि नै गरिसकेको छ। नेपालबाट नर्सिङ, केयर गिभर, रेस्टुरेन्ट, निर्माण, उद्योग र कृषि जस्ता क्षेत्रमा ठूलो संख्यामा कामदार जान सक्ने कारोबार अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु