फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र जापानबीच सीधा हवाई उडान हुने

(GMT+08:00) 2019-01-10 13:47:39

नेपाल र जापानबीच सीधा हवाई उडान हुने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनोबीच बुधबार दुई देशबीच हवाईसेवा सम्झौता संशोधनपत्रमा हस्ताक्षर भएसँगै नेपाल वायुसेवा निगमका जहाजले सीधै जापान उडान गर्न पाउने भएका छन्।

यसअघि काठमाडौं–ओसाका उडान भए पनि केही वर्षदेखि रोकिएको थियो। यसअघि सन् १९९३ मा हस्ताक्षर गरिएको सम्झौतालाई संशोधन गरी हस्ताक्षर भएको हो। अब निगमको जहाजले आगामी फेब्रुअरीदेखि जापानका विभिन्न सहरमा उडान गर्न पाउनेछन्। सहमतिअनुसार जापानको केही साँघुरो रहेको हानेदाबाहेक अन्य विमानस्थलमा नेपाली विमानले उडान भर्न पाउनेछन्। नेपालबाट सातामा १४ वटा विमान जापान उड्न पाउनेछन्।

निगमको सीधा उडानले जापानी पर्यटक आगमनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्झौतापछि वायुसेवा निगमको प्रत्यक्ष उडान छिटोभन्दा छिटो सञ्चालन होस् भन्ने आफ्नो चाहना रहेको जापानी विदेशमन्त्री तारो कोनोले बताउनुभयो। उहाँले त्यसका लागि नेपाल सरकारसँग निरन्तर सहयोग र सहकार्य गर्न जापान तयार रहेको बताउनुभयो।

जापानी परराष्ट्रमन्त्रीसँगको भेटमा नेपाली श्रमिक जापान पठाउने सहयोगपत्र जतिसक्दो छिटो आदानप्रदान गर्ने सहमति भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो। दुई देशका परराष्ट्रमन्त्रीबीच भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले श्रमिकका लागि नेपाललाई स्रोत मुलुकका रूपमा छनोट गरेकोमा जापान सरकारलाई धन्यवाद दिनुभयो।

जापानी विदेशी मन्त्रालयकी सहायक प्रवक्ता नात्सुको साताकाले दुई देशबीच अनुपम सम्बन्ध रहेकाले नेपालको विकासमा सघाउन तत्पर रहेको बताउनुभयो।उहाँले तेस्रो द्विपक्षीय बैठक टोकियोमा हुने जानकारी दिँदै आगामी महिना नेपालको उच्च कृषि वस्तुहरूका बारेमा सर्वेक्षण गर्न जापानी टोली आउने पनि बताउनुभयो। जापानले सन् २०२१ को ओलम्पिक खेलअघि नै नेपाली खेलाडीलाई तालिममा बोलाउने भएको छ। सात वर्षपछि भएको जापानी विदेशमन्त्रीको भेटमा दुई देशका अधिकारीबीच नेपाल भ्रमण वर्ष सफल बनाउन जापानमा नेपालको प्रचारप्रसार गर्ने संयुक्त प्रयासबारे छलफल भएको थियो।

दुई देशका परराष्ट्रमन्त्रीका बीचमा द्विपक्षीय परामर्श बैठक आयोजना गर्ने सम्बन्धी सहयोगपत्रमा पनि हस्ताक्षर भएको छ। दुई पक्षीय भेटमा पूर्वाधार निर्माण तथा कनेक्टिभिटी तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा पनि छलफल भएको छ। नेपालका प्राथमिकताका क्षेत्रमा जापानी लगानी तथा आगामी मार्चमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी जापानी लगानीकर्ता तथा उद्यमीको सहभागिताका विषयमा पनि छलफल भएको छ।

नागरिकन्यूज डटकमका अनुसार जापानले नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्दै सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु