फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत र चीनमा बनेका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न

(GMT+08:00) 2019-01-11 13:36:24
नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २२ उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ। विभागले भारत तथा चीनमा उत्पादित २२ उद्योगबाट उत्पादित २८ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो।

आधुनिक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, क्याल्कम सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, राजस्थान सिलिन्डर उद्योग भारतबाट उत्पादित एलपिजी सिलिन्डर र एलपिजी भल्व, अल्ट्राटेक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्टलाई गुणस्तर चिह्न प्रदान गरेको हो।

यस्तै, विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिह्न प्रदान गरेको छ। विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिह्न प्रदान गरे पनि नेपालले उद्योगमन्त्री नवीन्द्रराज जोशी भएपछि मात्र विदेशी वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गर्न सुरु गरेको हो।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विदेशी मुलुकबाट नेपाल गुणस्तर चिह्न लिने उद्योगको संख्या क्रमशः वृद्धि हुँदै गएको बताउनुभयो। 'प्रक्रिया पुर्‍याएर एनएस चिह्न लिने विदेशी कम्पनीलाई एनएस चिह्न प्रदान गर्दै आएका छौं,' उहाँले भन्नुभयो। विभागले हालसम्म देश तथा विदेशका ६० वस्तुमा दुई सय ५० उद्योगबाट उत्पादित तीन सय ६९ प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु