फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्यालयको कक्षाकोठामै योग शिक्षा

(GMT+08:00) 2019-01-12 14:38:19

'शान्त हुनुस्,' कक्षाकोठामा माइकबाट निर्देशन आउँछ, 'अब योग सुरु हुँदै छ।' नियन्त्रण कक्षबाट शिक्षकले सीसी क्यामराले २३ वटै कक्षाकोठा नियाल्छन्। विद्यार्थी र शिक्षक जब ध्यानपूर्वक शान्त भएर बस्छन्, कन्ट्रोल कक्षबाट मधुरो संगीत पठाइन्छ।

लगातार ५ मिनेट सबै कक्षाकोठाका विद्यार्थी र शिक्षक आँखा चिम्लिएर ध्यानमा बस्छन्। 'मेडिटेसन पिरियड' सकिएपछि शिक्षकले माइकबाट शुभकामना दिन्छन्, 'आजको दिन सबैको सुखमय रहोस्, राम्रोसँग अध्ययन गर्नुहोला।'

मध्याह्नको छुट्टीपछि पनि योग दोहोरिन्छ। घण्टी लाग्नेबित्तिकै त्यसैगरी शिक्षकले सबै कक्षामा ध्वनि पठाउँछन् र भन्छन्, 'शान्त हुनुहोला।' अनि मधुरो संगीत बजाएर ५ मिनेट ध्यान गराउँछन्।

रामेछापको सदरमुकामस्थित मन्थली माविमा ध्यान हुन थालेको एक वर्ष भएको छ। 'यसले अनुशासन र नैतिक शिक्षामा वृद्धि गराएको छ,' शिक्षक चन्द्रसिं धामीले भन्नुभयो, 'ध्यानले विद्यालय प्रशासनको काम धेरै घटाएको र विद्यार्थीलाई नियमित विद्यालयमा आउने दरमा सुधार ल्याएको छ।' यो खबर आजको कान्तिपुरले लेखेको छ।

धामीका अनुसार पहिले विद्यार्थीबीच दैनिक दुई चार झगडा मिलाउनुपथ्र्यो। ध्यान गराउन थालेपछि झैझगडा स्वात्तै घटेको उनको अनुभव छ।

विद्यार्थीलाई अध्ययनशील बनाउन र समयको पालना गराउन पनि ध्यानले बल पुर्‍याएको शिक्षकहरू ठान्छन्। 'पहिले प्रार्थना सकेर कक्षाकोठामा पसेपछि हामी धेरैबेर कल्याङमल्याङ गथ्र्यौँ,' कक्षा १० का एक छात्र भन्छन्, 'आँखा चिम्लिएर ध्यानमा बसेपछि वातावरणै फरक हुन्छ, एकाग्रता आउँछ।'

२०७४ मंसिरमा उक्त विद्यालयका केही शिक्षक ओमशान्तिमार्फत भारतको मधुवनी जाँदा यही सिकेर आए। सीसी क्यामेराका साथै सबै कक्षामा माइकको व्यवस्था गरेपछि राजयोग सहज भयो। प्रधानाध्यापक टंकप्रसाद दाहाल बालअधिकार र मानवअधिकारका दृष्टिले कक्षाकोठामा जडित सीसी क्यामेराप्रति सधैँ संवेदनशील भएको बताउनुहुन्छ। उहाँले ध्यान गराउन र महत्त्वपूर्ण सूचना सम्प्रेषण गर्न विद्यालयको नियन्त्रण कक्ष प्रयोग हुने बताउनुभयो।

जानकारी तथा लेखहरु