फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्रीद्वारा चोभारको सुक्खा बन्दरगाहको शिलान्यास

(GMT+08:00) 2019-01-18 16:51:54

चोभारमा सुक्खा बन्दरगाहको शिलान्यास भएको छ। हिजो बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खा बन्दरगाहको शिलान्यास गर्नु भएको कारोबार अनलाइनले लेखेको छ। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चोभारमा निर्माण हुने सुक्खा बन्दरगाहबाट बहुआयामिक प्रतिफल प्राप्त हुने दाबी गर्नुभयो।

"सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएपछि आर्थिक क्रियाकलाप वृद्धि भई त्यसको प्रत्यक्ष लाभ स्थानीयबासीले लिने छन्," प्रधानमन्त्री ओलीले भन्नुभयो, "दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रूपमा यसलाई उपयोग गर्न सकिन्छ।" उहाँले यो बन्दरगाह बाहिरी चक्रपथ र फास्ट्रयाक्टसँग जोडिने जानकारी दिनुभयो। "दक्षिणकाली र टौदह पर्यटकीय स्थलनजिकै रहेका छन्," उहाँले भन्नुभयो, "यसबाट आन्तरिक र बाह्य व्यापारलाई सहज पुग्छ।" बाहिरी मुलुकबाट सामान बोकेका कन्टेनर सिधै चोभारमा आउने भएकाले लागत र समय दुवै बचत हुँदा व्यापार सहजीकरण हुने प्रधानमन्त्री ओलीको भनाइ छ। उहाँले एकै स्थलबाट वस्तु तथा सेवाको आयात निर्यात गर्न सकिने भएकाले स्वदेशी वस्तुको उत्पादन बढाएर निर्यात प्रवद्र्धन गर्न सकिने दाबी गर्नुभयो। घरेलु, साना तथा मझौला उद्योगको उत्पादन बढाएर निर्यात वृद्धि गर्न सकिने भन्दै प्रधानमन्त्री ओलीले बढ्दो आयातलाई प्रतिस्थापन गर्न स्वदेशी वस्तुको उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने बताउनुभयो। बन्दरगाह निर्माणमा अवरोध पुर्‍याउने स्थानीयबासीका जायज माग पूरा गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई निर्धारित समयमै काम सक्ने आग्रहसमेत गर्नुभयो।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चोभारमा निर्माण हुने सुक्खा बन्दरगाहले मुलुकको व्यापारलाई सहजीकरण गर्ने बताउनुभयो। कोलकाता, वीरगन्ज, भैरहवा हुँदै काठमाडौं आउने सामान अब सिधै चोभारमा आउने भएकाले आयात–निर्यात सहज हुने उहाँको भनाइ छ। "काठमाडौं ठूलो व्यापारिक हव भएकाले आयात हुने ५० प्रतिशत कन्टेनर सिधै चोभारमा आउँछन्," अर्थमन्त्री खतिवडाले भन्नुभयो, "यसले सामान आयात निर्यात गर्दा भन्सार विन्दूमा आउने समस्या अन्त्य भई व्यापारलाई सहज बनाउँछ।"

अर्थमन्त्री खतिवडाले छिमेकी मुलुकबाट आयात गर्ने सामान वीरगन्ज भन्सारमा चेकचाँज भएर आउँदा धेरै समस्या हुने र समय लाग्ने गरेको स्मरण गर्दै अब सिधै सामान चोभारमा आउने भएकाले समय र लागत दुवैको बचत हुने बताउनुभयो।

कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सुक्खा बन्दरगाह सिधै तेस्रो मुलुकसँग जोडिने भएकाले मुलुकको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो। बन्दरगाह निर्माणभएसँगै त्यसको प्रत्यक्ष लाभ स्थानीयबासीले लिने भएकाले निर्माणमा सहयोग पुर्‍याउन उहाँले आग्रह गर्नुभयो। बन्दरगाहमै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइनलगायतका कार्यालय रहनेछन्।

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाउन लागिएको बताउनुभयो। यो बनेपछि सामान आयात–निर्यातमा सहज हुने उहाँको भनाइ छ।

विश्व बैंकको सहयोगमा १ अर्ब ४८ करोड ३४ लाख रूपैयाँको लागतमा निर्माण हुने यो बन्दरगाह साविकको हिमाल सिमेन्टको ११ दशमलब ७७ हेक्टर क्षेत्रफलमा निर्माण गर्न लागिएको हो।

अन्तर्राष्ट्रियस्तरको बन्दरगाह भएकाले साना तथा मझौला किसिमका व्यापारिक अवसर सिर्जना हुने छ। बन्दरगाहको निर्माण सम्पन्न भएपछि व्यापारिक लागत घट्न गई उपभोग्य वस्तुको मूल्य घट्नुका साथै निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। बन्दरगाहसँगै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गरिने भएकाले चोभारको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने छ। नेपाली र चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको योजना बन्दरगाहको काम १८ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ।

जानकारी तथा लेखहरु