फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व आर्थिक मञ्च, दाभोस बैठकमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ प्रस्थान

(GMT+08:00) 2019-01-21 13:35:27

पुँजीपतिहरूको क्लब मानिने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली आइतबार राति स्विट्जरल्यान्ड प्रस्थान गरेको छ। स्विट्जरल्यान्डको डावोसमा हुने मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जानुभएको हो। माघ ८ देखि ११ सम्म हुने वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंलबारको 'स्ट्राटेजिक आउटलुक अन साउथ एसिया' र बुधबारको 'सेपिङ द फ्युचर अफ डेमोक्रेसी' शीर्षकमा उनलाई वक्ता तोकिएको छ।

सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलो पटक प्रधानमन्त्रीस्तरमा भाग लिन लागेको हो। परराष्ट्र मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड भ्रमणक्रममा प्रधानमन्त्रीले विभिन्न देशका सरकार प्रमुख तथा व्यवसायीसँग भेटवार्ता गर्ने कार्यक्रम समेत छ । बैठकमा अमेरिकाले भने भाग लिने छैन।

करिब चार वटा थिममा विविध कक्ष सञ्चालन गरिनेछ । 'ग्लोबलाइजेसन ४.० : सेपिङ अ ग्लोबल आर्किटेक्चर इन द एज अफ द फोर्थ इन्डस्ट्रियल रिभोलुसन' लाई मुख्य थिम मानिएको छ । विश्व अर्थतन्त्रको भविष्य, उद्योग पद्धति र प्राविधिक नीति, मानव संसाधन र समाज, विश्व संगठनको पुनर्गठनलगायत विषय यसपालिका आकर्षण रहेको मञ्चले आफ्नो वेबसाइटमा उल्लेख गरेको कान्तिपुर अनलाइनले जनाएको छ।

मञ्चले बर्सेनि उठान गर्दै आएका कतिपय मुद्दा ज्युँका त्युँ रहेको भन्दै विज्ञहरूले बैठकको औचित्यमाथि आलोचना पनि गर्दै आएका छन् । 'मञ्चले विश्वको अवस्था सुधार्नुलाई आफ्नो भूमिका ठान्छ,' राजनीतिक विश्लेषक आनन्द गिरिधारादलाई उद्धृत गर्दै द गार्जियन पत्रिका लेख्छ, 'वास्तवमा यो बैठक विश्वलाई टुक्रा पार्नेहरूका लागि पारिवारिक पुनर्मिलन हो ।'

मञ्चले यसपालि 'मानसिक स्वास्थ' लाई विशेष थिम बनाएको छ । डिप्रेसन, एन्जाइटी जस्ता मानसिक स्वास्थ समस्या बढदै गएको र यसलाई राम्ररी सम्बोधन नगरिएको भन्दै मञ्चले यसमा जोड दिन खोजेका छ ।

अमेरिका–चीन व्यापार युद्धलाई लिएर बैठक रोचक हुने अनुमान गरिएको थियो । ट्रम्पसहित हवाइट हाउस प्रतिनिधि नै बैठकमा नजाने भएपछि चीनका उपराष्ट्रपति वाङ किसानको वक्तव्यले चित्त बुझाउनुपर्ने भएको छ । उनलाई व्यापार युद्धले चीनमा पुर्‍याएको असरबारे बोल्न लगाइने द गार्जियनले उल्लेख गरेको छ । चीनको अर्थतन्त्र वास्तवमै सुस्त भएको हो/होइन भन्नेबारे पनि उनले स्पष्ट पार्ने अनुमान गरिएको छ ।

बेलायती प्रधानमन्त्री थेरेसा मे पनि बैठकमा देखिने छैनन् । यद्यपि उनका तर्फबाट चान्सलर फिलिप हामोन्डले ब्रेक्जिटका विषयमा बेलायती उद्यमीका जिज्ञासा सम्बोधन गर्ने अनुमान गरिएको छ । कार्यक्रममा ब्रेक्जिटमाथि नै छलफल सत्र चलाउने मञ्चको योजना भए पनि आइतबारसम्म त्यसको टुंगो लागेको थिएन । सन् १९७१ मा स्विट्जरल्यान्डमा स्थापना भएको मञ्च वार्षिक बैठककै कारण बढी लोकप्रिय छ ।

जानकारी तथा लेखहरु