फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा कफीको उत्पादनमा वृद्धि, निर्यात बढ्दो

(GMT+08:00) 2019-01-22 13:53:44

स्वदेशमा कफीको उत्पादन बढ्दै जाँदा आयात घट्दै गएको छ। उत्पादनले आयात मात्रै घटाएको छैन, निर्यात समेत बढेको छ। आर्थिक वर्ष २०७२/७३ मा ४३४ मेट्रिक टन कफी उत्पादन भएकोमा ७३/७४ मा ४६६ र ७४/७५ मा ५१३ मेट्रिक टन उत्पादन भएको छ। आर्थिक वर्ष २०७२/७३ मा १०५ मेट्रिक टन कफी आयात भएकोमा ७३/७४ मा घटेर ९९ र ७४/७५ मा ८४ मेट्रिक टनमा सीमित भएको छ।

त्यस्तै कफीको निर्यात समेत बढेको छ। आर्थिक वर्ष ०७३/७४ मा ९४ मेट्रिक टन निर्यात भएकोमा ७४/७५ मा १६३ मेट्रिक टन पुगेको छ। उत्पादन कम हुँदा विदेशमा मागअनुरुप कफी निर्यात गर्न नसकिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक दिपक खनाल बताउनुहुन्छ।

'अहिले नेपाली कफीको विदेशमा ८ हजार मेट्रिक टन माग छ। हामीले वार्षिक जम्मा ५ सय १३ मेट्रिक टन उत्पादन गर्दै आएको छौँ' उहाँले भन्नुभयो।

निर्यात बढे पनि निर्यातको तुलनामा आयात भने झण्डै दुई गुणा बढी छ। नेपालमा कफी उत्पादनको सम्भाव्यताको तुलनामा एकदमै कम उत्पादन भएको छ। नेपालमा कफीको व्यवसायिक फार्मिङ हुन नसक्नुले पनि उत्पादन बढ्न नसकेको हो। अहिले साना किसानले मात्र कफी उत्पादन गरेकाले त्यसमा ठूला व्यवसायी भित्र्याउन पर्नेमा उहाँको जोड छ। बोर्डको अध्ययन अनुसार ११ लाख हेक्टर जमिन कफी उत्पादन हुने जमिन हो। ९० हजार हेक्टर जमिन कफी उत्पादनका लागि अत्यन्तै उपयुक्त मानिन्छ। हाल करिब २७ सय हेक्टर जमिनमा मात्रै कफी उत्पादन भइरहेको छ।

कफी विज्ञ भोला कुमार श्रेष्ठ चरम जनशक्तिको अभाव नै कफी उत्पादन हुन नसक्नुको मुख्य कारण रहेको सेतोपाटी अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु