फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दाभोस मञ्चलाई प्रधानमन्त्री ओलीको संवोधन, भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख

(GMT+08:00) 2019-01-23 15:13:46

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारत तथा चीनसँग जलमार्ग तथा रेल सञ्जाल स्थापना गर्न प्रयास गरिरहेको उल्लेख गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का अध्यक्षका हैसियतले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरेको बताउनुभएको छ।

विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत स्वीटजरल्याण्डको दाभोसमा जारी 'दक्षिण एशियाको रणनीतिक दृष्टिकोण' विषयक सत्रमा उहाँले नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको बताउनुभयो। उहाँले नेपालको सामाजिक आर्थिक रुपान्तरणका निम्ति वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको बताउनुभयो। प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँदै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गर्नुभयो।

नेपालले सामाजिक र आर्थिक रुपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी दिँदै छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणको मार्गमा अग्रसर भएको बताउनुभयो। नेपालले नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अङ्गीकार गरी नयाँ संविधानअनुसार नयाँ कानून बनाइरहेको बताउँदै संविधानलाई कार्यान्वयनका निम्ति संरचनागत परिवर्तन गरिरहेको उल्लेख गर्नुभयो।

'समृद्ध नेपाल तथा सुखी नेपाली' को लक्ष्य साकार पार्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथा सुशासनमा केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले नेपाली जनताका विकासका आकाङ्क्षा कार्यान्वयन गर्न ध्यान केन्द्रित गरेको बताउनुभयो। नेपालले नयाँ नीतिका साथ आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार गरिरहेको उहाँले उल्लेख गर्नुभयो।

महिला सशक्तीकरण, न्याय तथा समानता, सामाजिक न्यायको प्रवद्र्धनसँगसँगै समाजका सबै क्षेत्रमा सुधार गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले मानव सूचकाङ्कका दृष्टिले पछिपरेका समाजको उन्नयनलाई महत्वका साथ अघि बढाएको बताउनुभयो।

दक्षिण एशिया महान् सभ्यता र विद्वत्वर्ग रहेको क्षेत्र हो भन्दै प्रधानमन्त्री ओलीले सगरमाथादेखि हिन्द महासागरसम्म बहुभौगोलिक एवं जैविक विविधता रहेको उल्लेख गर्नुभयो। उहाँले अति उर्वर भूमि र उत्पादनशील जनसङ्ख्या भएको नेपालले आफ्ना नागरिकको जीवनस्तर उकास्न आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गरेको जानकारी दिनुभयो।

प्रधानमन्त्री ओलीले क्षेत्रीय सहयोग अभिवृद्धिका निम्ति इमान्दारी, निष्ठा र विश्वास अपरिहार्य भएकामा जोड दिँदै आपसी असमझदारी हटाउँदै क्षेत्रीय सहयोग र व्यापार विस्तारमा नेपालले सक्रिय भूमिका निर्वाह गरिरहेको बताउनुभएको नेपालखबर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु