फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडकमा आजदेखि विस्फोट गरी ढुंगा फुटाइने

(GMT+08:00) 2019-01-25 13:22:47

चीन जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकमा शुक्रबारदेखि 'ड्रिलिङ' थालिने भएको छ। सात महिनाअघि ट्र्याक खोलिएको सडकको पहिरो पन्छाउन ब्लास्टिङ गर्नुपर्ने भएपछि शुक्रबार ड्रिलिङ सुरु गर्न लागिएको हो। सडकमा ठूलाठूला ढुंगा खसेकाले ब्लास्टिङ गर्नुपर्ने अवस्था आएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। सडक स्तरोन्नति जारी रहे पनि कहिले सञ्चालनमा आउँछ भनी तोक्न नसकिने योजना प्रमुख सुबोधकुमार देवकोटा बताउनुहुन्छ।

सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्नुपरेकाले स्तरोन्नतिमा ढिलाइ भएको थियो। गत पुस अन्तिम साताबाट स्तरोन्नतिको काम सुरु भएको थियो। सडकका दुवैतर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ। २०७२ वैशाख १ गतेदेखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्र्याक खोल्ने कार्य सम्पन्न भएको थियो। त्यसको केही दिनपछि सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो। नागरिकन्यूज डटकमका अनुसार यो राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो।

राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचनामा उल्लेख भएअनुसार आर्थिक वर्ष २०६१÷६२ देखि निर्माण सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना २०७५÷७६ भित्र निर्माण तथा स्तरोन्नति भइसक्नुपर्ने उल्लेख छ। यो सडक वेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रुबेंसी जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती–मैलुङ–स्याफ्रुबेंसीको दूरी २९ किलोमिटर मात्रै छ। काठमाडौंदेखि गल्छी ४४, गल्छीदेखि बट्टार २२, बट्टारदेखि बेत्रावती ११, बेत्रावतीदेखि मैलुङ १२ र मैलुङदेखि स्याफ्रुबेंसी १६ किलोमिटर छ।

जानकारी तथा लेखहरु