फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-भारत जस्तो सम्बन्धमा विश्वमा कुनै देशबीच पनि नभएको भारतीय राजदूतको दावी

(GMT+08:00) 2019-01-26 14:16:27
नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले नेपाल–भारतबीचमा रहेको जनस्तरको सम्बन्ध विश्वको अरु कुनैपनि दुई देशबीच नभएको स्पष्ट पार्नुभएको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७०औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदुत पुरीले भन्नुभयो,'भारत र नेपालबीच रहेको सम्बन्ध विश्वमै अरु कुनैपनि दुई देशबीच यस्तो सम्बन्ध छैन, जुन हामीबीच प्रगाढ छ।'

राजदुत पुरीले दुई देशबीच जनस्तरमै अत्यन्तै सुमधुर सम्बन्ध रहेकोले आगामी दिनमा यसलाई अझै सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। दुई देशबीचको सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउनको लागि अर्थ व्यवस्था पनि सुदृढ बनाउनुपर्नेमा उहाँको जोड थियो। उहाँले वीरगन्ज–रक्सौलमा हालै सञ्चालनमा आएको 'ईन्ट्रिगे्रटेड चेक पोष्ट' ले वस्तु तथा सामाग्री आदान–प्रदानमा ठूलो सहयोग पुगेको विश्वास दिलाउनुभयो।

आगामी दिनमा यस्तै चेक पोष्ट नेपालगञ्ज, भैरहवा, विराटनगर र काँकडभिट्टामा पनि सञ्चालनमा ल्याउने राजदुत पुरीले बताउनुभयो। त्यस्तै पछिल्लो समय भारत–नेपाल बस सेवा पनि अत्यन्तै प्रभावकारी रुपमा सञ्चालनमा हुँदैआएको खबर कारोबार अनलाइनले लेखेको छ।

नेपाल–भारत द्धिपक्षीय सम्बन्धको केन्द्रविन्दु नै जनता–जनताबीचको सम्बन्ध रहेकोले आफूहरुले यसप्रति निकै महत्व दिएको पनि उहाँको भनाइ थियो। राजदुत पुरीले आगामी फेब्रुअरीको अन्तिमबाट सुरु भएर मार्चभरि नेपालको काठमाडौं र अन्य शहरहरुमा ठूलो सांस्कृतिक महोत्सव आयोजना लागिएको पनि जानकारी गराउनुभयो।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ईतिहासकै राम्रो मध्येको कालखण्ड अहिले रहेको दाबी गर्नुभयो। नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर रहेको सुनाउँदै आगामी दिनमा पनि यसलाई अझै सुदृढ बनाउनुपर्नेमा उहाँको जोड थियो।

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल–भारत सम्बन्ध बहुआयामिक भएको बताउनुभयो। डा. महतले भारतले नेपाल लगायत विश्वका धेरै देशलाई अनुकरणीय काम गरेर मार्गदर्शन गरेको पनि बताउनुभयो। नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिक भएको जिकिर गर्दै डा.महतले भारतको स्वतन्त्रता संग्राममा नेपालको सहयोग र नेपालमा राणा शासन अन्त्य गर्नका लागि भारतको भूमिका महत्वपूर्ण रहेको स्मरण गराउनुभयो।

नेपालमा वैदेशिक लगानी वृद्धिको मुख्य स्रोत नै भारत भएको महतको तर्क छ। नेपालमा भारतको लगानी बढाउने र नेपालबाट भारतमा नै विभिन्न वस्तु निर्यात गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने महतले बताउनुभयो।

एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारत विश्वमै उदयीमान अर्थतन्त्रको रुपमा उदाएको बताउँदै आगामी २५ देखि ३० वर्षभित्र संसारकै ठूलो अर्थतन्त्र बन्ने बताउनुभयो। उहाँले भन्नुभयो,'२१ औं शताब्दी एशियाको हो भनिएको छ, आगामी २५ देखि ३० वर्षभित्र भारत यसको प्रमुख अंग बन्छ।'

जानकारी तथा लेखहरु