फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याप्पी बेबी जोन स्थापना

(GMT+08:00) 2019-01-27 13:24:05

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ विमानस्थल सुधारका काम तीव्र गतिमा अघि बढाइएको छ। विदेशीको पहिलो प्रभाव पर्ने विमानस्थल नै भएकाले बुटिकको अवधारणाअनुरुप अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री तथा बाहिरी सुधारका काम धमाधम भइरहेको छ।

नेपालको परम्परागत, कला र संस्कृति झल्कने वस्तुको सजावटदेखि भवनभित्रका विभिन्न कक्षमा नयाँ कार्पेट विछ्याउनुका साथै बाहिरी सौन्दर्यको कामलाई प्रभावकारी रुपमा अघि बढाइएको विमानस्थलले जनाएको अनलाइनखबरमा समाचार छ। बुटिक विमानस्थलको अवधारणाअनुरुप विमानस्थल सुधार र साज सज्जावटको काम तीव्र रुपमा भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो।

यसैबीच विमानस्थलमा पहिलो पटक 'ह्याप्पी बेबी जोन' तथा 'लस्ट एण्ड फाउण्ड युनिट' को स्थापना गरिएको छ। सुत्केरी आमा र बच्चालाई ध्यानमा राख्दै विमानस्थलले सुविधायुक्त बेबी जोनको स्थापना गरेको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय उडानका लागि जहाजको पर्खाइमा रहेका बेला बच्चालाई राख्न र दूध खुवाउनका लागि समस्या नहोस् भन्ने उद्देश्यका साथ विमानस्थलभित्रै बेबी जोन सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो। यो कक्षमा जहाज पर्खाइमा रहेका बेला बच्चालाई सुताउन र सुत्केरी आमाहरुलाई आराम गर्न प्रयोग गर्न सकिनेछ। बेबी जोनभित्र बच्चालाई राख्न, सुताउन र खेलाउनका लागि विशेष ठाउँ बनाइएको छ। विमानस्थलमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको बेबी जोन हिमालय हर्बलको सहयोगमा स्थापना भएको हो।

जानकारी तथा लेखहरु