फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा आन्तरिक वायुसेवामार्फत साढे २८ लाख यात्रु ओसारपसार

(GMT+08:00) 2019-02-01 16:17:12

 

नेपालका नियमित र चार्टर उडानका वायुसेवाले एक वर्षमा २८ लाख ४७ हजार सात सय ५२ जना यात्रु उडाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने आन्तरिक उडानका हेलिकप्टर कम्पनी र नियमित उडानका वायुसेवाले सन् २०१८ मा ९५ हजार पाँच सय ८० उडानमार्फत उक्त संख्याका यात्रुलाई सेवा प्रदान गरेको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

आन्तरिक वायुसेवाका १० हेलिकप्टर कम्पनी र नियमित उडान गर्ने नौ वायुसेवा कम्पनीले त्रिभुवन विमानस्थलबाट बाहिरिने १४ लाख ७२ हजार ५८ र भित्रिने १३ लाख ७५ हजार ६ सय ९४ यात्रुलाई सेवा दिएका थिए। यी वायुसेवाले यात्रुसँगै तीन हजार ६ सय ९३ टन कार्गो पनि बोकेका थिए।

नियमित उडान गर्ने बुद्ध, यती, तारा, सिम्रिक, सौर्य, श्री, समिट, सीता र नेपाल एयरलाइन्स छन्। हेलिकप्टर उडानमा अल्टिच्युड, एयर डाइनेस्टी, फिस्टेल, हेली एभरेस्ट, कैलाश, मनाङ, माउन्टेन, प्रभु, सिम्रिक र श्रीसहितका १० वटा हेलिकप्टर कम्पनीले सेवा दिएका छन्। हेलिकप्टर कम्पनीले चार्टर उडान गर्ने भए पनि उनीहरूका यात्रु पनि विमानस्थल कार्यालयको तथ्यांकमा समेटिएको छ।

आन्तरिक वायुसेवाले सन् २०१८ मा दिएको यात्रु उडान सेवा सन् २०१७ को तुलनामा तीन लाख ९६ हजार तीन सय ६२ जना अर्थात् १६ दशमलव १६ प्रतिशत बढी हो। सन् २०१७ मा आन्तरिक उडानका वायुसेवाले २४ लाख ४७ हजार सात सय ५२ जनालाई सेवा दिएका थिए। यो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवरणको मात्रै तथ्यांक हो। काठमाडौंबाहिरका विमानस्थलमा हुने उडान न्युन भएकाले यसको तथ्यांक विमानस्थल कार्यालयले राख्ने गरेको छैन।

आन्तरिक उडानमा सबैभन्दा बढी यात्रु बोक्ने वायुसेवामा बुद्ध एयर नै अगाडि छ। यो वायुसेवाले एक्लैले १३ लाख २५ हजार चार सय नौ जना यात्रुलाई सेवा दिएको छ। यो वायुसेवाले २८ हजार आठ सय ८१ वटा उडानमार्फत ६ लाख ८८ हजार आठ सय ९५ जनालाई विमानस्थल बाहिर लगेको छ भने ६ लाख ३६ हजार पाँच सय १४ जना यात्रु भित्र्याएको तथ्यांकमा उल्लेख छ।

बुद्ध एयरले हाल आन्तरिक उडानमा ११ वटा जहाज प्रयोग गरिरहेको छ। यसका ६ वटा ७२ सिट क्षमताको एटीआर ७२, तीनवटा ४२ सिट क्षमताको एटीआर ४२ र दुईवटा १८ सिट क्षमताको बिचक्राफ्ट–१९०० डी नामक जहाज छन्।

बुद्ध एयरपछि यात्रु उडानमा सेवामा यती एयरलाइन्स छ। यो वायुसेवाले गत एक वर्षमा ६ लाख ६८ हजार ६ सय ६४ जनालाई सेवा दिएको छ। यतीले १९ हजार एक सय ४० उडानमार्फत उक्त यात्रु सेवा प्रदान गरेको हो। यतीसँग दुईवटा एटीआर जहाज भए पनि २९ र ३० सिट क्षमताका जहाजको संख्या धेरै भएको र यात्रु उडान क्षमता एटीआरको तुलनामा कम भएकाले यात्रु सेवा थोरै भएको हो।

यस्तै यात्रु उडानमा तेस्रो नम्बरमा श्री एयरलाइन्स छ। यो वायुसेवाले एक वर्षमा चार लाख ४७ हजार आठ सय ७७ जना यात्रुलाई सेवा दिएको छ। यो वायुसेवाले आठ हजार आठ सय २८ वटा उडानमार्फत उक्त सेवा दिएको उल्लेख छ। यस्तै सिम्रिकले ४४ हजार पाँच सय २२ यात्रु ओसारेको छ।

यात्रु सेवामा क्रियाशील सौर्य एयरले एक लाख ६ हजार जनालाई सेवा दिएको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवासँग ६ वटा चिनियाँ र दुईवटा ट्विनअटर जहाज आन्तरिक उडानमा रहेको भए पनि सबैको नियमित उडान नहुनाले एक वर्षमा जम्मा ७९ हजार एक सय ७९ जना यात्रुलाई मात्रै सेवा दिएको छ। समिट एयरले ४२ हजार एक सय ४२ जनालाई सेवा दिएको छ।

जानकारी तथा लेखहरु