फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका तामाङ समुदायको सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज मनाइँदै

(GMT+08:00) 2019-02-05 13:33:11

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ। यो २८५५औँ सोनाम ल्होछार हो। मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो। मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले राससलाई जानकारी दिनुभयो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रपात्रोअनुसार नयाँ वर्षका रूपमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। सोनाम ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न सकेमा विश्वसामु नेपाल र नेपालीको पहिचान कायम राख्न सकिने भएकाले यसतर्फ हामी सबैको ध्यान जानुपर्ने बताउनुभएको छ।

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, "नेपालसहित सिङ्गापुर, मलेशिया, भारत, थाइल्याण्ड, मङ्गोलिया, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायत देशमा समेत फरक फरक नाम र शैलीमा मनाइने सोनाम ल्होहार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रवर्द्धनमा समेत उत्तिकै टेवा पुग्ने विश्वास लिएको छु।"

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ।

उपराष्ट्रपतिले नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख दायित्व राज्यको रहेको औंल्याउँदै यसतर्फ सबैको ध्यान जाने विश्वाससमेत गर्नुभएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ। तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको बताउनुभएको छ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, "नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन्। मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ।"

वर्तमान सरकार 'समृद्ध नेपाल, सुखी नेपाली'को लक्ष्य राखेर अघि बढेको स्पष्ट पार्दै उहाँले यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको बताउनुभएको छ।

यसै उपलक्ष्यमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले 'सोनाम ल्होहार' का उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु