फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्याकी देवी सरस्वतीको पूजाआजा गर्दै नेपालमा वसन्त पञ्चमी मनाइँदै

(GMT+08:00) 2019-02-10 15:01:13

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ। वसन्त पञ्चमी पनि भनिने यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ। आजका दिन लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ। त्यसैले काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पूजाआजा गर्न छात्रछात्राको घुइँचो लागेको छ। साथै विद्यालय र क्याम्पसहरुले पनि सरस्वती पूजाको विशेष कार्यक्रम राख्ने गरेका छन्।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गर्नुभयो। परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ। सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो। उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गर्नुभयो।

श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेख छ। वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुआत हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने गरेको छ।

जानकारी तथा लेखहरु