फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पर्यटकीय गन्तव्य थपिँदै

(GMT+08:00) 2019-02-10 15:02:47

मकवानपुरको उत्तर पश्चिमी कैलाश गाउँपालिका २ स्थित बैकुण्ठलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन स्थानीय बासिन्दा जुटेका छन्। मनोरम दृष्यावलोकन, चिसो हावापानी र धार्मिक गन्तव्यका रूपमा रहेको बैकुण्ठलाई जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य बनाउन स्थानीय जुटेका हुन्।

बैकुण्ठमा तामाङ संग्रहालय निर्माण सुरु गरिएको छ। तामाङ जातिको कला, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संग्रहालय निर्माण सुरु गरिएको कैलाश २ का वडाध्यक्ष राजेन्द्र घिसिङले बताउनुभयो।

यस्तै करिब २४ सय मिटर उचाईमा रहेको बैकुण्ठको एउटा टुप्पोमा कहिल्यै नसुक्ने ताल छ। विष्णु कुण्ड नाम दिइएको पानी नसुक्ने उक्त तालसँग तामाङ समुदायको धार्मिक आस्था जोडिएकाले यसको संरक्षणको काम भइरहेको छ।

साथै पर्यटकलाई खाना र बस्ने सुविधाका लागि स्थानीय युवाले बैकुण्ठमा सामूहिक लगानीमा २० वटा होमस्टे निर्माण सुरु गरेका छन्। तामाङ जातिको मात्र बसोबास रहेको बैकुण्ठमा होमस्टे निर्माण गरी सांस्कृतिक प्रदर्शनी तथा स्थानीय खानाको स्वाद चखाएर पर्यटक आकर्षित गर्ने लक्ष्य रहेको स्थानीय शिक्षक लक्ष्मी घिसिङले बताउनुभयो।

पश्चिम नेपालमा गुरुङ समुदायमा प्रचलित रहेको घाटु नाच प्रत्येक वैशाख पूर्णिमाका दिन यहाँका तामाङ समुदायले देखाउँदै आएका छन्। देशभर तामाङ समुदायले बैकुण्ठमा मात्र वैशाख पूर्णिमामा देखाइने घाटु नाच अब पर्यटकले नियमित हेर्न पाउने भएका सेतोपाटी अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु