फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सरकारको सहयोगमा निर्मित चक्रपथको सुरक्षा जाँच थालियो

(GMT+08:00) 2019-02-11 14:17:40
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तारित चक्रपथको कोटेश्वर–कलङ्की खण्डको सडक सुरक्षा जाँच (रोड सेफ्टी अडिट) आइतबारबाट सुरु भएको छ। सडक विभागले चक्रपथको उक्त खण्डको 'रोड सेफ्टी अडिट' सुरु गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले चक्रपथको कोटेश्वर–कलङ्की खण्डको सडक सुरक्षाबारे विभिन्न टिकाटिप्पणी आएकाले आइतबारबाट उक्त खण्डको 'रोड सेफ्टी अडिट' सुरु गरिएको जानकारी दिनुभयो।

सडक विभागले सडक सुरक्षा सम्बन्धी विज्ञ इञ्जिनियरहरूलाई 'रोड सेफ्टी अडिट'को जिम्मेवारी दिएको उहाँले बताउनुभयो। चीनले माघ १३ गते चक्रपथको उक्त खण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

उहाँले भन्नुभयो, "चक्रपथको 'रोड सेफ्टी अडिट' भइसकेपछि तत्काल र दीर्घकालीनरूपमा सुधार गर्नुपर्ने समस्याको पहिचान हुनेछ र त्यसअनुसार काम अगाडि बढाइनेछ।" तत्काल सुधारको रूपमा थप 'जेब्रा क्रसिङ'को निर्माण लगायतका आवश्यक स्थानमा पूर्वाधार थप्ने, डिभाइडर राख्ने वा हटाउने काम गरिने छ भने 'अडिट' ले दिएको प्रतिवेदनको आधारमा दीर्घकालीन कार्यलाई अगाडि बढाइने उहाँले बताउनुभयो।

पर्याप्त ठाउँमा 'जेब्रा क्रसिङ', आकाशे पुल नभएको, सडक सञ्चालनमा आए पनि 'सर्भिस ट्रयाक' निर्माण हुन नसकेको लगायतका गुनासो आमनागरिकको रहेको छ। करिब १० किलोमिटरको उक्त खण्डमा कलङ्की, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को र कोटेश्वरमा मात्र जेब्रा क्रसिङ रहेका छन्। त्यसैगरी, अहिले कोटेश्वर, ग्वार्को र बागडोलमा मात्र आकाशे पुल निर्माण गरिएको छ।

चक्रपथको कोटेश्वर–कलङ्की विस्तारका लागि १८ डिसेम्बर २०१२ मा तत्तकालिन भौतिक योजना तथा निर्माण मन्त्रालय र चीनको सङ्घाई कन्सट्रकसन ग्रुप कम्पनी लिमिटेडबीच सम्झौता भएको थियो। सोही सम्झौता अनुरुप चीन सरकारबाट प्राप्त ३१ करोड २० लाख युयान (करीब तीन अर्ब ७५ करोड रुपियाँ)को अनुदान सहयोगमा चक्रपथ विस्तार भएको हो।

जानकारी तथा लेखहरु