फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व कीर्तिमान बनाउन ५,२०० मिटर उचाइमा हक्की खेलिने

(GMT+08:00) 2019-02-11 14:19:30

विश्व कीर्तिमान कायम गर्न जुलाईमा नेपालमा हकी खेलिने भएको छ। ब्रिटेनका पेसा र व्यवसायमा संलग्न व्यक्ति आ–आफ्नो टोली बनाएर हकी खेल्न नेपाल आउन लागेका अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ। सहभागी टोलीले नेपालको अन्नपूर्ण हिमाल क्षेत्रमा हकी खेल्नेछन्। उक्त अभियानलाई 'हकी फर हिरोज च्यालेन्ज' नाम दिइएको समाचार शनिबार ब्रिटेनको 'दी प्रेस एन्ड जर्नल' ले प्रकाशन गरेको छ। सहभागी टोलीले अन्नपूर्ण हिमशृंखलाको ५ हजार दुई सय मिटर उचाइमा हकी खेलेर विश्व कीर्तिमान बनाउने लक्ष्य लिएका छन्।

हालसम्म विश्वमा कहिले पनि त्यति उचाइमा हकी खेलिएको छैन। सबैभन्दा उच्च स्थानमा हकी खेलिएको कीर्तिमान चार हजार दुई सय मिटर रहेको समाचारमा जनाइएको छ। 'एक पटक चार हजार दुई सय मिटर उचाइमा आइस हकी खेलिएको थियो। तर, त्यसभन्दा उच्च स्थानमा हालसम्म हकी खेलिएको छैन', नेपालमा आयोजना हुने प्रतियोगिताको तयारीमा व्यस्त एरोन ह्वाइटले भन्नुभएको छ।

ह्वाइट ब्रिटिस प्रहरीको कन्स्टेबल हुनुहुन्छ। उहाँले नेपालमा आयोजना हुने 'हकी फर हिरोज च्यालेन्ज' का लागि आफूहरूले निकै कडा तयारी गरिरहेको बताउनु भएको छ। 'त्यो प्रतियोगितालाई लिएर हामी निकै उत्साही छौं। त्यसका लागि कडा तयारी पनि गर्दै छौं', उहाँले भन्नुभयो, 'विश्व कीर्तिमान बनाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउनेमा हामी विश्वस्त छौं।'

ह्वाइटको टोलीमा १५ जना सदस्य छन्। अन्नपूर्ण क्षेत्रमा खेलिने हकी खेलको निर्धारित समय ७० मिनेट रहेको पनि समाचारमा उल्लेख छ। 'हाम्रो यो अभियानले नेपालको दुर्गम क्षेत्रका बासिन्दालाई खेलकुदप्रति आकर्षित गर्न पनि मद्दत पुर्‍याउनेछ', ह्वाइट भन्नुहुन्छ, 'दूरदराजका गाउँमा हकी खेलको लोकप्रियता बढाउनु पनि हाम्रो यो अभियानको उद्देश्य हो।'

अन्नपूर्ण हिमशृंखलामा हकी खेल्नुभन्दा पनि त्यहाँसम्मको यात्रा तय गर्नु आफूहरूका लागि सबैभन्दा ठूलो चुनौती भएको धारणा पनि ह्वाइटले व्यक्त गर्नुभएको छ। 'हामीमध्ये केही अहिले अल्टिच्युड च्याम्बर्समा अभ्यास गरिरहेका छौं तर, हामीलाई थाहा छ यो अभ्यास मात्र हाम्रा लागि पर्याप्त हुने छैन', ह्वाइट भन्नुहुन्छ। 'हकी फर हिरोज च्यालेन्ज' विशुद्ध मानवीय भावनाले अभिप्रेरित कार्यक्रम भएको उहाँले बताउनुभयो।

सन् २०१२ देखि सुरु भएको 'हकी फर हिरोज च्यालेन्ज' अभियानले च्यारिटिमार्फत शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ। 'हकी फर हिरोज च्यालेन्ज' का प्रवक्ता जोल फोरेस्टरले पनि सबैभन्दा उच्च स्थानमा हकी खेलेर विश्व कीर्तिमान बनाउने अभियान सफल हुने विश्वास व्यक्त गर्नु भएको छ। 'हाम्रो यो अभियान सफल हुनेमा म आशावादी छु', उहाँ भन्नुहुन्छ, 'पवित्र उद्देश्य लिएर सुरु गरिएको यो अभियानको सफलताले पाँच हजार मिटरभन्दा उच्च स्थानबाट विश्वलाई पनि एउटा गतिलो सन्देश दिनेछ।'

नेपालको कुन संस्थाको सहयोगमा यो प्रतियोगिता आयोजना हुन लागेको हो भन्ने विषयमा भने समाचारमा केही खुलाइएको छैन। नेपाल हकी संघले आफूहरूलाई यो प्रतियोगिताको विषयमा कुनै जानकारी नरहेको जनाएको छ।

जानकारी तथा लेखहरु