फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुस्ताङमा नेपाली र अमेरिकी सेनाको संयुक्त तालिम

(GMT+08:00) 2019-02-12 16:33:34

नेपाल र अमेरिकी सेनाबीच वर्षेनी आयोजना हुँदै आएको संयुक्त सैन्य तालिम ब्यालेन्स नेल अन्तर्गत यसपटक तीन हप्ता लामो तालिम मुस्ताङमा सञ्चालन भइरहेको छ। तालिम चलिरहँदा हिमपात भएको छ। हिमपातबीच पनि तालिम जारी रहेको नेपाल खबर अनलाइनले लेखेको छ।

नेपाली सेनाको विशेष फौज महावीर रेञ्जर रेजिमेन्ट, हिमाली युद्धकला विद्यालय र संयुक्त राज्य अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका सैन्य अधिकारी तालिममा सहभागी छन्। उच्च हिमाली क्षेत्रमा युद्धकला, आपतकालीन उद्दार र हिमपहिरोको जोखिम र विपत् व्यवस्थापन तालिम भइरहेको नेपाली सेनाले जनाएको छ।

तालिम अमेरिकी सेनासँग हुने नियमित क्यालेन्डरअनुसारकै एउटा हिस्सा हो। यो तालिम अन्तर्गत उच्च हिमाली क्षेत्रमा जीवन रक्षासहित विपत् व्यवस्थापन र उद्दारका कलाहरुसम्बन्धी अनुभव साटासाट हुनेछ।

'अहिले सञ्चालन भइरहेको तालिम दुई देशबीच वर्षेनी आयोजना हुने तालिमकै एउटा हिस्सा हो,' सैनिक प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले भन्नुभयो 'त्यसमा नेपाली सेनाको रेञ्जर र अमेरिकी सेनाको प्यासिफिक कमाण्ड सहभागी छन्।' उहाँका अनुसार सैन्य तालिम तीन हप्ता लामो हुनेछ। यो तालिम फागुनको पहिलो साता समापन हुनेछ।

दुई देशका सेनाबीच १५ वर्षदेखि आपसी साझेदारीमा विभिन्न तालिम, कार्यशाला एवं अनुभव आदान–प्रदान हुँदै आएको छ। 'हिम पहिरो सुरक्षा, आपतकालिन उद्दारका लागि मात्र होइन आपसी मित्रता मजबुत बनाउन समेत सकारात्मक हुने विश्वास लिएको छ।

'यस किसिमका तालिमले हिमपहिरो सुरक्षा, हिमनदीसम्बन्धी तालिम, आपतकालीन उद्दार तथा निसानाको सीप सिकाउने मात्र होइन अमेरिका र नेपालबीच सैन्य सम्बन्ध, आपसी सौहार्दता अझ बढाउनेछ', तालिमका तस्विर पोष्ट गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासले ट्विटरमा भनेको छ।

जानकारी तथा लेखहरु