फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा लगानी गर्न उपाध्यक्ष ढकालको आग्रह

(GMT+08:00) 2019-02-12 16:34:59

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवम् लगानीकर्तालाई आग्रह गर्नु भएको छ। दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँदिल्लीमा सुरु भएको आठौं बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानुन निर्माण भएको, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकाले लगानीको वातावरण बनेको बताउनु भएको कारोबार अनलाइनले लेखेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थीर सरकार बनेको र लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएकाले नेपालका कृषि, पर्यटन, उर्जा, सेवा क्षेत्रलगायतका क्षेत्रमा लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह पनि गर्नुभयो। नेपाल सरकारले आगामी महिना लगानी सम्मेलनको आयोजना गरेको र नेपालमा लगानीका थुप्रै सम्भावना रहेको स्मरण गराउँदै उहाँले सो सम्मेलनमा सहभागी भई नेपालमा लगानीको अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्तालाई आमन्त्रण गर्नुभयो।

श्रमिकका समस्याका विषयलाई सम्बोधन गर्ने गरी श्रमसम्बन्धी कानुन निर्माण भएको, देशमा राजनीतिक स्थिरता देखिएको र वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माणमा सरकार लागिपरेकोले नेपालमा सम्भावना रहेका कैयौँ क्षेत्रहरूमा लगानी गरी पारस्पारिक आर्थिक लाभ लिन सार्क क्षेत्रका लगानीकर्ताहरूलाई उहाँले आग्रह गर्नुभयो।

उहाँले नेपाल सरकारद्वारा हालै जारी गरिएका श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानुनको कार्यान्वयनका साथै श्रम बजारको विस्तार एवं प्रादेशिक रूपमा श्रमिकको क्षमता अभिवृद्धि गरी मुलुकमा औद्योगिक विकास र प्रवद्र्धनमा जोड दिनुभयो।

दक्षिण एसियाका लगानीकर्ता एवं रोजगारदाताले यस खालको मञ्चबाट निकै फाइदा लिन सक्ने धारणा राख्दै ढकालले सार्क देशमा आर्थिक, सामाजिक, सांस्कृतिकका साथै लगानीका क्षेत्रमा पनि साझा खालका अवसर र चुनौती रहेकाले यस्ता मञ्चबाट साझा लाभ लिन सकिने बताउनुभयो। यस दक्षिण एसियाली क्षेत्रका सरकारलाई पनि आर्थिक सामाजिक क्षेत्रको विकास तथा आपसी आर्थिक हित प्रवद्र्धनका लागि आवश्यक र उपयुक्त नीति बनाउन यस्ता मञ्चबाट सामुहिक रूपमा सुझाव दिन या आग्रह गर्न सकिने उहाँले बताउनुभयो।

उहाँले रोजगारतादाहरूको साझा मञ्चमार्फत सार्क क्षेत्रमा लगानी प्रवद्र्धन गर्न, आर्थिक हितका साझा मुद्दामा मिलेर काम गर्न, पर्यटन, उर्जा, सेवा क्षेत्रलगायतमा लगानीका सम्भावनाको पहिचान गरी द्विपक्षीय एवं बहुपक्षीय रूपमा लाभ लिने गरी पारस्परिक सहयोगको वातावरण निर्माण गर्न पनि आग्रह गर्नुभयो।

दक्षिण एसियाली रोजगारदाता मञ्चको नयाँदिल्लीमा सुरु भएको यो आठौं बैठक हो। बैठक तीन दिनसम्म चल्ने छ। बैठकमा नेपाललगायत सार्क राष्ट्रका रोजगारदाता सहभागी छन्। सार्क देशका उद्योग बाणिज्य संघ, महासंघ तथा चेम्बर अफ कमर्सलगायतमा आबद्ध रोजगारदाता सम्मिलित यस मञ्चमार्फत रोजगारदाताले आफ्ना क्षेत्रका समस्या, सम्भावना र चुनौतीको खोजी गरी तिनको समाधानका उपायका बारेमा छलफल गर्ने कार्यक्रम छ।

जानकारी तथा लेखहरु