|
|
|
||
रसुवागढी नाकाबाट १ अर्ब ५१ करोड ८ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको स्याउ आयात गरिएको हो। अघिल्लो वर्षको सोही अवधिमा १ करोड ३६ लाख ९० हजार ८ सय ४५ किलो स्याउ आयात भएको थियो।
रसुवा भन्सार कार्यालयले यो आर्थिक वर्षको ६ महिना र अघिल्लो आवको सोही अवधिमा भन्दा दोब्बर आयात भएको जनाएको छ। आव ०७४/०७५ मा ५ करोड ८५ लाख ८४ हजार ३ सय ६९ किलो स्याउ आयात भएको तथ्यांक रसुवा भन्सार कार्यालयसँग छ।
चाडपर्वको समयमा स्याउ आयात धेरै हुने गरेको छ। आमाको मुख हेर्ने दिन, दसैं, तिहार र छठजस्ता चाडपर्वमा स्याउ आयातमा वृद्धि हुने गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार विभिन्न नाका हुँदै आर्थिक वर्ष ०७४/०७५ मा ९३ हजार ४ सय ८२ टन स्याउ आयात भएको छ।
नेपालमा चीन, भारत, इटाली, थाइल्यान्ड र यूएसबाट स्याउ आयात हुने गरेको छ। सबैभन्दा धेरै स्याउ चीनबाट आयात हुने गरेको छ। चीनबाट आव ०७४/०७५ मात्र ७९ हजार ८ सय ७६ टन स्याउ आयात भएको छ।
भारतबाट १३ हजार ४ सय १३ टन स्याउ आयात भएको छ। स्याउ आयातमा मात्रै वार्षिक ५ अर्ब ६२ करोड २२ लाख ९५ हजार बाहिरिने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ।
चीनबाट मात्रै ४ अर्ब ६६ करोड ७७ लाख २५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ। चीनबाट आयात हुने स्याउ मुख्यत: काठमाडौं, पोखरा, चितवनलगायका ठूला सहरहरूमा खपत हुने गरेको व्यापारीहरू बताउँछन्।
नेपालको हिमाली जिल्लाहरूमा स्याउ खेती हुने गरेको छ।
आव ०७४/०७५ को तथ्यांकअनुसार नेपालमा १२ हजार ६ सय ९२ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिँदै आएको छ। त्यसमध्ये ४ हजार २ सय ६३ हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुने गरेको छ। नेपालमा वार्षिक २९ हजार ७ सय १६ टन स्याउ उत्पादन हुने गरेको राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख रमिता मानन्धरले बताउनुभयो। उहाँले भन्नुभयो, 'एक हेक्टर क्षेत्रफलमा खेती गर्दा ७ टनसम्म स्याउ उत्पादन हुन्छ। स्याउ उत्पादन भदौदेखि कात्तिकसम्म हुन्छ। स्याउको बिरुवा रोपेको ७ वर्षपछि मात्र फल दिन थाल्छ। स्याउ आयात बर्सेनि बढदै गएपछि नेपाल सरकारले आयात घटाउन विभिन्न कार्यक्रम तथा योजना ल्याएको छ।
नेपाल सरकारले २०६९ सालदेखि कार्णालीका ५ वटा जिल्ला, मनाङ र मुस्ताङमा स्याउ आत्मनिर्भर कार्यक्रम लागू गरेको छ। उक्त कार्यक्रमपछि रुकुम जिल्ला पनि थप गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत पनि स्याउ उत्पादन हुने जिल्लाहरूमा सहयोग गरिएको छ। स्याउ उत्पादन वृद्धि गर्न विभिन्न जिल्लाहरूमा स्याउ जोन तथा पकेट क्षेत्र घोषणा गरिएको छ।
अन्य कृषिजन्य वस्तुको आयात पनि बर्सेनि बढ्दै गएको छ। रसुवागढी नाकाबाट कृषिजन्य वस्तु आयातको तुलनामा निर्यात निकै कम रहेको छ। उक्त नाकाबाट आयात भएका कृषिजन्य वस्तुहरूमा स्याउ, नास्पाति, बकुल्ला भोटे चिया, चम्पा पिठो, खुर्सानीको धूलो, बदाम, च्याउ, गुन्द्रक, सुकेको आरुबखडा, बोडी, कफी, तरकारीका बीउहरू, ओखर, दालचिनी, सुकेको बयर, लसुन, किसमिस, अदुवा, जिरा, जिम्बु, चामल, टिमुरलगायत छन्।
निर्यात भएका वस्तुमा बेसार, खुर्सानी, मैदा, चिया, च्याउ, कफी, मसला, दाल, मेथी, भटमास, तिल, चिउरा, कोदो, सस्र्युं, नरिवल, लप्सीको क्यान्डीलगायतका वस्तुहरूरहेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी भूपेन्द्र कार्कीले बताउनुभयो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |