फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने नेपालकी राष्ट्रपतिको भनाइ

(GMT+08:00) 2019-02-15 16:41:55

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले देशको व्यापार घाटा कम गर्न उत्पादन बढाउनुको विकल्प नभएको बताउनु भएको छ। नेपाल उद्योग परिसंघ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा सुरु भएको 'नेपाल उद्यमशीलता सम्मेलन'को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उद्योगको विकास हुन सके व्यापार घाटा कम हुने बताउनु भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

देशमा उद्योगधन्दा स्थापना भएमात्रै वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन सकिने उहाँले बताउनुभयो। नेपालमै दिगो र उचित विकास गर्न आयात प्रतिष्ठान र निर्यात बढाउन उत्पादनमा नगई सुखै नहुने उहाँको भनाइ छ। 'उद्योगले प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ, 'उहाँले भन्नुभयो, 'उत्पादन बढाउन सके मात्र व्यापार घाटा कम गर्न सकिन्छ।' राष्ट्रपति भण्डारीले तीन तहका योजना कार्यान्वयनबाट चुलिएको व्यापारघाटा कम गर्न सकिने बताउनुभयो। 'उत्पादन बढाउन उद्यमशीलता अपरिहार्य भइसक्यो', उहाँले भन्नुभयो। युवालाई उद्यमी बनाउन सरकारले आवश्यक ऐन, कानुन बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

समृद्धि सपना साकार पार्न उत्पादन र उत्पादकत्व बढाउन सरकारले ढिला गर्न नहुने उहाँको भनाइ छ। 'नवीन सोच र प्रविधि आत्मासात गर्ने युवालाई स्वदेशमै रोक्न लगानीमैत्री वातावरण बनाउनुपर्छ', उहाँले भन्नुभयो। उद्यमशीलताले रोजगारी तथा स्वरोजगारी सिर्जना हुनुका साथै आर्थिक विकासमा टेवा पुग्ने भएकाले सबैको प्राथमिकता औद्योगिक विकास हुनुपर्ने बताउनुभयो।

उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले संमृद्ध नेपाल र सुखी नेपाली सपना साकार पार्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्न आतुर भएको बताउनुभयो। उद्योगी र सरकार एकजुट भएर देशको आर्थिक विकासमा जोड दिनुपर्ने उहाँको भनाइ थियो। 'अहिलेको अवस्थामा कोही पनि विभाजित हुनुहुँदैन, सरकार र उद्योगी हातेमालो गरेर नै अघि बढ्नुपर्छ', उहाँले भन्नुभयो।

अबको नेपालको अर्थतन्त्र आयातमुखी नभई निर्यातमुखी हुनुपर्ने मन्त्री यादवले बताउनुभयो। व्यापारघाटा कम गर्न उत्पादन बढाउनुको विकल्प नभएको उहाँको भनाइ थियो। नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले व्यापार घाटामा व्यापक असन्तुलन हटाउन उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु