फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रेडपान्डाको संख्यामा वृद्धि

(GMT+08:00) 2019-02-15 16:45:38

विश्वकै दुर्लभ जनावर रेडपान्डाका लागि कर्णालीका हिमाली जिल्ला सुरक्षित बासस्थान मानिएका छन्। सुरक्षित बासस्थानका कारण बर्सेनि रेडपान्डाको संख्या बढ्दै गएको कान्तिपुर अनलाइनले लेखेको छ।

रेडपान्डा नेटवर्कले जुम्लामा गरेको अनुसन्धानअनुसार जुम्लाका तातोपानी, सिंजा, हिमा, कनकासुन्दरी, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाका जंगलमा संख्या बढ्दै गएको छ। नेटर्वकका सरोज श्रेष्ठका अनुसार विश्वका ५ देशमा मात्रै पाइने रेडपान्डा पूर्वी नेपालका केही जिल्ला र कर्णालीमा धेरै पाइने गरेको छ।

उहाँका अनुसार रेडपान्डाको ४४ प्रतिशत बासस्थान कर्णालीमा छ। निगालाको जंगलमा रेडपान्डा धेरै भेटिने गरेको छ। ६ वर्षअघि जुम्ला खलंगामै रेडपान्डा भेटिएको थियो। स्थानीयले खलंगामा भेटाएको रेडपान्डा जिल्ला वन कार्यालयमा बुझाएका थिए।

जिल्लामा हातेमालो नेपालले रेडपान्डा नेटवर्कको सहयोगमा रेडपान्डा संरक्षणका लागि विभिन्न कार्य गर्दै आएको छ। समुदायमा आधारित रेडपान्डा संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समितिका सदस्यसँग पनि पटकपटक संरक्षणबारे जानकारी गराउने गरिएको नेटवर्कले जनाएको छ।

वन विनाशसँगै अव्यवस्थित चरणले पनि रेडपान्डा संकटमा पर्ने गरेको हातेमालो नेपालका पुरुषोतम जैसीले बताउनुभयो। यसको संरक्षण गरे रेडपान्डा हेर्न जुम्लामा आन्तरिक तथा बाह्य पर्यटक आउन सक्ने सहायक वन अधिकृतनीरज झा बताउनुहुन्छ।

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य रारा लोपोन्मुख रेडपान्डाको राम्रो बासस्थान बन्न थालेको छ। रारा भ्रमणमा आउने पर्यटकको वृद्धि भइरहेका बेला रेडपान्डाको संख्या बढ्दै गएपछि संरक्षणकर्मी उत्साहित बनेका छन्। रेडपान्डाको प्रमुख बासस्थान रारा बन्न थालेको रारा राष्ट्रिय निकुञ्जका अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो। रेडपान्डाको गणना भइनसकेकाले संख्या किटान नभए पनिबढिरहेको उहाँको भनाइ छ।

भौगोलिक र वातावरणीय दृष्टिले रेडपान्डाका निम्ति रारा उपयुक्त मानिएको अनुसन्धानले जनाएको छ। छमुर्माटप, चुचुमारे, रुमखोला माझघट्ट, खमालेखोलालगायत निकुञ्ज क्षेत्रमा रेडपान्डा बस्ने गरेको निकुञ्जले जनाएको छ। रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा निगालो र रूखको टोड्काहरू धेरै भएकाले रेडपान्डालाई बासस्थान बनाउन सजिलो भएको हो।

जानकारी तथा लेखहरु