फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुढा हात्ती राख्नका लागि चितवनमा हात्ती वृद्धाश्रम खोलिँदै

(GMT+08:00) 2019-02-21 15:35:02
उमेर ढल्केका हात्तीको स्याहार गर्नका लागि चितवनको सौराहामा हात्तीको वृद्धाश्रम खोलिएको छ। वृद्धाश्रमले काम गर्न नसक्ने अवस्थाका हात्ती जम्मा गरी तिनको स्याहार गर्नेछ। हात्ती नमरेसम्म त्यहीँ पालिन्छ। खैरहनी नगरपालिकाको कुमरोजमा साढे दुई बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालन र हात्तीको वृद्धाश्रम सुरु गरिएको हो। वृद्धाश्रममा राखिएपछि रिसोर्टमा आएका पाहुनाले हात्तीको दिनचर्या हेर्न पाउनेछन्। रिसोर्टकै आम्दानीले वृद्धाश्रम सञ्चालन गर्ने योजना छ।

रिसोर्ट सञ्चालक शरदकुमार पाण्डेले भन्नुभयो, 'हात्तीको दिनचर्या हेरेर पर्यटक रमाउने वातावरण बनाउन खोजेका छौं। यसले मानिस र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य हुने विश्वास छ।' मंगलबारदेखि सुरु गरिएको वृद्धाश्रममा ४५ वर्षको बिरामी पोथी हात्ती 'सीताकली' लाई राखिएको छ। अशक्त यो हात्तीले आँखा देख्दैन। एक जना माहुते त्यसको स्याहारका लागि खटाइएको छ। तारबारले घेरिएको खुला चौरमा हात्तीलाई छाडिएको छ। हात्ती राख्न बनाइएको जग्गामा उसलाई मन पर्ने खानेकुरा, बोटबिरुवा लगाइनेछ। हात्तीलाई मौसमअनुसार फलफूल खुवाउने रिसोर्टको योजना छ।

वृद्धाश्रममा ४० देखि ५० वर्ष नाघेका हात्ती ल्याइन्छ। हात्ती संरक्षणका लागि भेटेरेनरी चिकित्सक अमेरिकी नागरिक डा.ट्रिस लन्डन खटिएकी छन्। भेटेरेनरी चिकित्सकको १५ वर्षको अनुभवसहित उनी तीन वर्षदेखि हात्तीको उपचारमा लागेकी छन्। भारत, थाइल्यान्ड, म्यानमार, अमेरिका, ब्राजिल र फ्रान्समा पनि बूढा हात्तीको संरक्षण गरिन्छ। सामान्यतया हात्ती ८० वर्षसम्म बाँच्ने गर्छ। वयस्क हात्ती खरिद गर्न करिब ८० लाख रुपैयाँ लाग्छ। तर, हात्ती किनबेचमा रोक लगाइएको अन्नपूर्णपोस्टले लेखेको छ।

जानकारी तथा लेखहरु