फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र बंगलादेशबीच पनि व्यापार घाटा, नेपालको निर्यात भन्दा आयात धेरै

(GMT+08:00) 2019-02-21 15:39:12
नेपाल र बंगलादेशबीचको व्यापार अन्य छिमेकी देशको तुलनामा विगतमा सन्तुलित नै भए पनि हाल भने निकै घाटाको अवस्थामा छ। दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनसँग खर्बौंको व्यापारघाटा बेहोरिइरहेको नेपालले बंगलादेशसँगको व्यापारमा पनि सोही नियति भोग्न थालेको छ। निर्यात वृद्धिको पर्याप्त सम्भावना रहे पनि बंगलादेशबाट एकोहोरो आयातमात्र बढ्दा व्यापारघाटा चरम रुपमा बढिरहेको छ।

भन्सार कार्यालयको पछिल्लो २ वर्षको तथ्यांक मात्रै हेर्ने हो भने नेपाल र बंगलादेशवीचको व्यापार निरन्तर ओरालो लागेको लाग्यै छ। दुई मुलुकबीच हाल काँकरभिट्टा–फूलबारी–बंगलाबन्ध मार्गवाट व्यापार हुने गरेको छ। भारतीय भूमी हुँदै हुने नेपाल र बंगलादेशबीचको व्यापारसमेत आगामी दिनमा आयातमुखी बन्ने पक्काजस्तै देखिन्छ। यस मार्गबाट व्यापार सुरु भएको २२ वर्ष पुगिसकेको छ। यस अवधिमा ५२ अर्ब ५८ करोड ९४ लाख २३ हजार रुपैयाँ बराबरको व्यापारिक कारोबार भएको छ। लामो समयसम्म नेपालबाट निर्यात बढी हुने गरेकोमा पछिल्ला तीन वर्षमा भने ऋणात्मक बन्दै गएको नेपाल–बंगलादेश व्यापारलाई सहजीकरण गर्ने सरकारी निकाय नेपाल पारवाहन गोदाम व्यवस्था कम्पनी काँकरभिट्टाले जनाएको छ।

२०५४ भदौमा काँकरभिट्टा–फूलबारी–बंगलाबन्ध मार्ग सञ्चालनमा आएपछि बंगलादेशसँगको व्यापार सुरु भएको हो। काँकरभिट्टादेखि करिब ५४ किलोमिटरको दूरी पार गर्दा बंगलादेशको व्यापारिक नाका बंगलाबन्ध पुगिन्छ। बंगलादेशसँगको व्यापारका लागि यो मार्ग नै सबैभन्दा छोटो मानिन्छ। पाँच वर्ष अघिसम्म द्विपक्षीय व्यापार नेपालको पक्षमा थियो।

नेपालबाट निर्यात घट्दै गएकाले चाँडै द्विपक्षीय व्यापार ऋणात्मक बन्ने जोखिम देखिएको पारवहन काँकडभिट्टाका प्रमुख यादवराज शिवाकोटीले बताउनुभयो। उहाँका अनुसार मुसुरो दालको निर्यातकै कारण बंगलादेशसंगको व्यापार टिकेको छ।

बंगालदेशमा माग रहेको जडिबुटीको निर्यात बढाउन सके मात्र व्यापार पुनः नेपालका पक्षमा आउने सम्भावना रहेको अधिकारीहरू बताउँछन्। नेपालले निर्यातजन्य वस्तु पहिचानमा नेपाली पक्षले चासो लिएको पाइँदैन। नेपालबाट गहुँलगायत केही मात्रमा अदुवा जस्ता सामग्री बंगलादेश निर्यात हुन्छन्। अलैंची, अम्लिसो, अदुवा, फलफूलको माग उच्च भए पनि नेपाली व्यापारी निर्यातमा चुकिरहेका छन्। बंगलादेशबाट जुस, ब्याट्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तु, सिमेन्ट, सूर्ती, टमाटरको सस, बिस्कुट, प्लास्टिकका फर्निचर, मोबिल, आलु, दूध पाउडर, कस्मेटिकलगायतका सामग्री नेपाल आयात हुने मेची भन्सार कार्यालय प्रमुख टेकबहादुर अर्यालले बताउनुभयो।

नेपाल–वंगलादेश वाणिज्य सचिवस्तरीय बैठकले नेपालका कृषिजन्य उत्पादनसहित १ सय ८ वटा वस्तुलाई भन्साररहित सुविधा दिने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन। झन्झटिलो भन्सार नीतिका कारण जडिबुटी निर्यात पनि हुन सकेको छैन।

कारोबार अनलाइनका अनुसारनेपालको अन्तर्राष्ट्रिय व्यापार प्रायः सबै मुलुकसँग ऋणात्मक नै छ। ०७४ पुसमा भारतीय राजदूत मञ्जिभसिंह पुरीले पूर्वको काँकडभिट्टा, भद्रपुर लगायत स्थानका व्यापारीसँग अन्तरक्रिया गर्दै नेपालको भारत र तेस्रो देशसँगको व्यापार कारोबार बढाउन आवश्यक सम्पूर्ण काम गर्न भारत प्रतिबद्ध रहने बताएका थिए।

जानकारी तथा लेखहरु