फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चक्रपथमा बीआरटी सञ्चालन गर्ने तयारी

(GMT+08:00) 2019-03-11 19:24:58
नेपाल सरकारले बस र्‍यापिड ट्रान्जिट (बीआरटी) सञ्चालन गर्ने तयारी गरेको छ। चैत दोस्रो साता आयोजना गर्न लागिएको लगानी सम्मेलनमा बीआरटी सञ्चालनका लागि प्रस्ताव गर्न लागिएको छ।

काठमाडौं उपत्यकाको चक्रपथमा बीआरटी सञ्चालनका लागि प्रस्ताव गर्ने तयारी गरिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी बताएको अन्नपूर्णपोस्टले लेखेको छ। उनले सार्वजनिक यातायात सुधार गर्न मास ट्रान्सपोर्टको आवश्यकता रहेको र हालको सार्वजनिक यातायालाई व्यवस्थित गर्न सकिएन भने आगामी दिनमा अवस्था अझै विकराल बन्ने बताउँदै व्यवस्थित यातायात प्रणालीको आवश्यकता रहेको औंल्याए।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार नेपालमा ३२ लाखभन्दा धेरै सवारीसाधन सञ्चालनमा छन्। त्यसमा दुई पांग्रे सवारीको संख्या अधिक छ। नेपालमा सञ्चालन हुने सवारीमध्ये मोटरसाइकलले मात्र ७८ प्रतिशत हिस्सा ओगटेको छ। नेपालमा २५ लाख ३० हजारभन्दा धेरै मोटरसाइकल प्रयोगमा छन्।

युरोपियन तथा अमेरिकन मुलुकको तुलनामा दक्षिण एसिया दुई पांग्रे सवारीको प्रयोग धेरै छ। सार्वजनिक यातायातको तुलनामा निजी सवारी सञ्चालन महँगो पर्छ। तर समय बचतको हिसाबले यो किफायती छ। सार्वजनिक यातायातको प्रयोग गर्नुभन्दा निजी सवारीको प्रयोगबाट सहज रूपमा गन्तव्यमा पुगिने भएकाले निजी सवारीको प्रयोग धेरै गरिएको हो।

बीआरटी प्रणालीमा सञ्चालन हुने सवारीले अन्य सवारीको जस्तो जामको समस्या भोग्नु पर्दैन। बीआरटीका लागि निश्चित लेन हुन्छ। अन्य सवारी जाममा पर्दा पनि बीआरटी बिनाअवरोध सञ्चालन हुन्छ। लगानी बोर्डले चक्रपथको साढे २७ किलोमिटरमा बीआरटी सञ्चालनका लागि प्रस्ताव गर्दैछ।

चक्रपथमा बीआरटी सञ्चालन गर्ने विषयमा बोर्डले प्रारम्भिक पूर्वसम्भाव्यता अध्ययन गरेको छ। बीआरटी सामान्य बसभन्दा फरक प्रकृतिको हुन्छ। यस्तो प्रणाली काठमाडौं उपत्यकामा मात्र नभई मुलुकका अन्य ठूला सहर पनि उपयुक्त हुन सक्छन्।

जानकारी तथा लेखहरु