फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वैशाखदेखि पाइपबाट पेट्रोलियम

(GMT+08:00) 2019-03-15 15:19:22
आगामी वैशाखभित्र पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ। नेपाल आयल निगमले चैतमा पाइप लाइन निर्माणको काम सकेर वैशाखदेखि पेट्रोलियम पदार्थ ल्याइने जनाएको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको २८ किलोमिटर निर्माण सम्पन्न भइसकेको र अब आठ किलोमिटर निर्माण बाँकी रहेको गोरखापत्रअनलाईनले लेखेको छ।

अमलेखगन्जदेखि पथलैयासम्मको जङ्गलमा रुख कटानको काममा प्रक्रिया पुर्याउँदा ढिलाइ भएको निगमले जनाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतले रुख कटानको प्रक्रियाले अलिकति ढिलाइ भएको तर अब प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै वैशाखसम्ममा पाइप लाइनबाट पेट्रोल ल्याउन सकिने जानकारी दिएका छन्।

तीस महिनाको अवधि राखेर एक वर्षअघि शुरु भएको निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो आयोजना सकिएपछि प्रतिमहिना ७० करोड करोड ढुवानी भाडा बचत हुनेछ। कुल दुई अर्ब ७५ करोड रुपियाँ लागतमध्ये पाइप लाइनका लागि दुई अर्ब र अमलेखगन्ज डिपो निर्माणका लागि ७५ करोड रुपियाँ लगानी गरिनेभएको छ। जसमा दुई अर्ब रुपियाँ भारत सरकारको र ७५ करोड रुपियाँ नेपाल आयल निगमको लगानी हो।

निगमका अनुसार अमलेखगन्जमा भण्डारण ट्याङ्की थपिनेछ। हाल २३ हजार किलोलिटर क्षमताको ट्याङ्की रहेकोमा अब ४२ हजार किलोलिटर क्षमताको बनाइनेछ। सो ट्याङ्की निर्माणपछि एकैपटकमा २४ गाडीले इन्धन भर्न मिल्नेछ। जसअनुसार दैनिक तीन सयवटा गाडीले तेल भर्न मिल्नेछ।

सन् १९९५ मा अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका लागि नेपाल र भारतबीच समझदारी पत्र ( एमओयु) भएको थियो तर काम हुन सकेको थिएन। दोस्रो पटक सन् २०१५ को अगस्टमा नेपाल र भारतबीच पेट्रोलियम पाइप लाइन निर्माण गर्ने सम्झौता भएपछि प्रारम्भिक काम शुरु भएको थियो।

जानकारी तथा लेखहरु