फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

७ महिनामा ५.१५ खर्ब रेमिट्यान्स

(GMT+08:00) 2019-03-16 16:12:56
चालु आर्थिक वर्षको सात महिना अर्थात् साउनदेखि माघसम्मको अवधिमा ५ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको सात महिनाको 'आर्थिक तथा वित्तिय स्थिति'प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा अमेरिकी डलरमा १६ प्रतिशतले रेमिट्यान्स बढेको हो। अमेरिकी डलरसँग नेपाली मूल्यको अवमूल्यनको कारण नेपाली मुद्रामा हिसाब गर्दा रेमिट्यान्सको वृद्धिदर झन्डै २७ प्रतिशत भएको अन्नपूर्णपोस्ट दैनिकले लेखेको छ।

यस अवधिमा मुलुकको शोधनान्तर स्थिति भने आधा खर्ब घाटामा छ। शोधनान्तर भनेको मुलुक भित्रने र मुलुकबाट बाहिरिने रकमको अन्तर हो। अघिल्ला महिनाको तुलनामा शोधनान्तर घाटा सामान्य घटेको भए पनि अझै ४९ अर्ब ३१ करोड रुपैयाँ घाटा रहेको केन्द्रीय बैंकले जनाएको छ।

बढ्दो आयातका कारण चालु खाता घाटा भने १६६ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। सात महिनाको अवधिमा आयात २६ प्रतिशतले बढेर ८ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। नेपाली मुद्रा डलरसँग तीब्र अवमूल्यन हुँदा पनि निर्यातबाट प्राप्त आय भने ११.५ प्रतिशतले बढेर ५३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

व्यापारघाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.१ प्रतिशतले बढेर ७ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। विदेशी मुद्रा सञ्चिति आर्थिक वर्षको सुरुवातमा १० अर्ब ८ करोड रहेकोमा माघ मसान्तमा ९ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। यस वर्षको आयातको प्रवृत्ति विश्लेषण गर्दै राष्ट्र बैंकले मुलुकसँग भएको विदेशी मुद्रा सञ्चितिले ८ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त हुने उल्लेख गरेको छ। माघ महिनामा उपभोक्ता मुल्य वृद्धि भने ४.४ प्रतिशत छ। पुस महिनामा उपभोक्ता मूल्य वृद्धि ४.६ प्रतिशत थियो।

जानकारी तथा लेखहरु