फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्याग्दी हिमाली जिल्लामा सूचीकृत

(GMT+08:00) 2019-03-16 16:15:20
संसारको सातौं अग्लो धौलागिरीसहित दर्जनौं हिमशृङ्खला अवस्थित म्याग्दीलाई सरकारले हिमाली जिल्लामा सूचीकृत गरेको छ। म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको 'केही नेपाल ऐन संशोधन गर्ने विधेयक-२०७५' संघीय संसदको दुईवटै सदनबाट पारित गरेर कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको अन्न्पूर्णपोस्ट दैनिकले लेखेको छ।

राजपत्रमा प्रकाशित भएपछि म्याग्दीले बैधानिक हिसाबले हिमाली जिल्लाको मान्यता पाएको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले बताए। यसअघि नेपालका ७७ मध्ये २० वटा मात्र हिमाली जिल्लाको सूचिमा थिए, म्याग्दी हिमाली जिल्लाको २१ औं स्थानमा सूचिकृत भएको छ।

आधा दर्जन हिमाल अवस्थित र भौगोलिक विकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्लाको पहिचान दिनुपर्ने आवाज उठ्दै आएको थियो। हिमाल नजिकका बस्ती पहाडी भेगमा सूचिकृत हुँदा राज्यले हिमाली भेगका अन्य जिल्लाका बासिन्दालाई दिने सेवा सुविधाबाट म्याग्दीका दुर्गमबस्तीका बासिन्दा बञ्चित थिए।

धौलागिरी, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको भुगोलमा धौलागिरि, अन्नपूर्ण प्रथमको आधार शिविर, निलगिरि, गुर्जा र चुरेन लगायतका हिमाल छन्। संसारकौ सातौं अग्लो आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकामा अवस्थित छ। धौलागिरी दोस्रो ७,६६१, धौलागिरी तेस्रो ७,७१५, धवलागिरी चौथो ७,६६१, धवलागिरी पाँचौ ७,६१८ र धौलागिरी छैटौ हिमाल ७,२६८ मिटर अग्ला छन्।

हिमाली भू-भाग ओगटेका स्थानीय तहबाट आएको माग बमोजिम जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुँदै राष्ट्रियसभाबाट फागुन १५ गते पारित भएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेपछि फागुन १९ गतेको राजपत्रमा प्रकाशित भएको थियो।

जानकारी तथा लेखहरु