फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माथिल्लो तामाकोसीमा पेनस्टक पाइप जडान सम्पन्न

(GMT+08:00) 2019-03-17 16:46:53

निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ढुवानीमा जटिल समस्याको रूपमा रहेको पेनस्टक पाइप ढुवानी सकिएको छ। गत वर्ष ढुवानी गरी सिन्धुपाल्चोकको सुनकोसी पावर हाउस परिसरमा राखिएको सबै पाइप आयोजनास्थल गोंगर पु-याइएको छ। ती पाइपको ढुवानीसँगै आयोजनाका लागि ढुवानी समस्या टरेको कारोबार अनलाइनले लेखेको छ।

आयोजनाको लट २ अन्तर्गतको तल्लो पेनस्टक ठाडो सुरुङमा जडान हुने ५ मिटर लामो पाइप ढुवानी पूरा भएको हो। "आयोजनाका लागि ठूला पाइप सुनकोसीबाट उठेका छन्, एउटा पाइप बोकेको गाडी बाटोमा छ," आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले भन्नुभयो, "त्यो पनि मंगलबार रातिसम्म आयोजनास्थल गोंगर पुग्छ होला, ती पाइपको ढुवानीसँगै अब ठेकेदारले ढुवानी नसकेकाले पाइप जडान गर्न नसकेको बहाना बनाउन पाउँदैन।" ५ मिटर लामो पाइप ७४ वटा छन्। ४५६ मेगावाट क्षमताको आयोजनाको लट २ को भारतीय कम्पनी टेक्सम्याकोले गर्न नसकेपछि काम टुक्र्याएर अस्ट्रियन कम्पनी एन्द्रिजलाई दिएको २ महिनामै पाइप ढुवानी सकेको हो। तल्लो पेनस्टक साफ्ट ३७३ मिटरको ठाडो सुरुङ छ।

आयोजनाको तल्लो पेनस्टक साफ्टको पेनस्टक पाइप जडान र परीक्षणको काम एन्द्रिजले पाएको छ। ढुवानीसँगै एन्द्रिजले पाइप जडानको काम पनि सुरु गरेको छ। सम्झौता भएलगत्तै एन्द्रिजले काम सुरु गरेको थियो। आयोजना, भारतीय कम्पनी टेक्सम्याको र एन्द्रिजबीच गत पुस २३ गते त्रिपक्षीय सम्झौता भएको थियो।

आयोजनाको ३१० मिटरको माथिल्लो ठाडो सुरुङसहित बाँकी काम टेक्सम्याको आफैंले गर्ने भएको छ। माथिल्लो खण्डका लागि पाइप ढुवानी पनि उसैले गर्दै आएको छ। माथिल्लो खण्डका लागि साढे २ मिटरको पाइप १२ चक्के टेलरमा ल्याउने हुँदा समस्या छैन। तर ती पाइप पनि कतिपय अझै भारतमै छन्।

सिभिललगायत अन्य काम अन्तिम चरणमा पुगेका बेला लट २ को ठेकेदार टेक्सम्याकोका कारण आयोजना ढिलाइ हुन पुगेको छ। टेक्सम्याकोले अहिले कबुल गरेको कामसमेत गर्न नसके ती पनि एन्द्रिजलाई दिनसक्ने स्थिति रहेको उहाँले बताउनुभयो।

पेनस्टक पाइपको कामबारे त्रिपक्षीय सम्झौतापछि अब २०७६ कात्तिकसम्म आयोजनाले विद्युत् उत्पादन गर्नसक्ने विश्वास बढेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो। आयोजनाको यही पुसमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखे तापनि पेनस्टक पाइप ढुवानी र जडानकै कामको ढिलाइले समय लम्बिएको हो।

पाइप ढुवानीको समस्या सुल्झिएर सकिन लागे तापनि पाइप जडानको काम उस्तै छ। तल्लो पेनस्टक साफ्टमा एन्द्रिजले २ महिनामा बल्ल एउटा पाइपमात्र जडान सकेको छ। सुरुको तयारीका कारण समय लागे तापनि अब दोस्रो पाइप जडानदेखि कामले तीव्रता पाउने प्रवक्ता न्यौपानेले बताए।

माथिल्लो खण्डको पनि टेक्सम्याकोले एउटा पनि पाइप जडान गर्न सकेको छैन। साढे २ मिटरको २ वटा पाइपलाई बाहिरै जोडेर सुरुङमा जडानका लागि लगिन्छ। तर पाइप जडानमा यही गतिको सुस्तता कायम रहे आउँदो कात्तिकमा विद्युत् उत्पादन गर्ने लक्ष्यमा पुनः ठेस पुग्ने स्थिति छ।

आयोजनाको हाइड्रोमेकानिकल अन्तर्गत टेक्सम्याकोले बाँध, इन्टेक र डिस्यान्डरमा गेट, स्टपलग, पेनस्टक पाइप आदिको डिजाइन, ढुवानी, जडान, परीक्षण र कमिसनिङ आदि पर्दछन्। आयोजनामा दुवै ठाडो सुरुङसहित १ हजार १३४ मिटर पेनस्टक पाइप जडान गर्नु पर्नेछ। पेनस्टक पाइप जडान नभएका कारण सिभिलतर्फको ठेकेदार सिनो हाइड्रोले गर्नुपर्ने कंक्रिटिङको कामसमेत रोकिएको छ।

२०७३ साउनबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको आयोजनाले भूकम्पपछि संशोधन गरी २०७५ असारबाट उत्पादन सुरु गर्ने लक्ष्य राखियो। तर लट २ कै कारण ९ महिना थप भयो। त्यो समयमा पनि पूरा नहुने भएपछि अहिले २०७६ कात्तिकसम्म परीक्षण उत्पादन गर्ने संशोधित कार्यतालिका बनाइएको छ। भूकम्प र नाकाबन्दी, डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने प्रशासनिक खर्चलगायतका कारण ३५ अर्ब २९ करोड अनुमानित लागतसमेत बढेर व्याजसहित दोब्बर हुने अनुमान छ।

आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न विद्युत्गृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ। चार लटमा आयोजनाको काम भइरहेको छ। जसअनुसार आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेसन, हाइड्रोमेकानिकलमा टेक्सम्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अस्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा भारतको केईसी इन्टरनेसनल लिमिटेडले गरिरहेका छन्। तर फुलासीमा बनाउने सबस्टेसनको काम पनि ढिलाइ भएको छ।

जानकारी तथा लेखहरु