फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज नेपालको हिमाली तथा पहाडी भेगमा फागु पर्व मनाइँदै

(GMT+08:00) 2019-03-20 16:22:26

फाल्गुण शुक्ल पूर्णिमाका दिन आज राजधानी तथा मुलुकका पहाडी भेगमा फागु पर्व मनाइँदैछ । छोरा प्रह्लाद विष्णुभक्त भएको आक्रोशमा हिरण्यकश्यपुले आफ्नै बहिनी होलिकाको काखमा प्रह्लादलाई सुताएर आगोमा दहन गर्न खोजेका थिए तर प्रह्लाद सकुशल रहे भने होलिकाको मृत्यु भयो। यसै खुसियालीमा पौराणिक कालदेखि यो पर्व मनाइँदै आएको शास्त्रमा वर्णन गरिएको छ। तराई क्षेत्रमा भने भोलिपल्ट यो पर्व मनाउने प्रचलन छ।

फागु पूर्णिमा पूर्वी फाल्गुनी नक्षत्रमा लाग्ने हुँदा यसको स्वामी शुक्रग्रह रहेकाले यो पर्व रतिराग, प्रेम, सौन्दर्य र यौवनतासँग सम्वद्ध रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउनुहुन्छ। यही बेला वसन्त ऋतुको आगमन हुने भएकाले वसन्तोत्सव वा मदनोत्सवको रूपमा पनि यो पर्व मनाइन्छ। वसन्त ऋतुलाई कामवासनायुक्त मानिन्छ। काठमाडौँको हनुमानढोका दरवारस्थित मोहनकालीचोकमा भगवान् कृष्णको मूर्तिका साथमा वरिपरि अर्धनग्न अवस्थाका नौ गोपिनीको मूर्ति स्थापना गरेर वसन्तपुर दरवार परिसरमा रङ्गीचङ्गी कपडाको चीर ठड्याएपछि यो पर्व सुरु हुन्छ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गर्नुभएको छ।सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै राष्ट्रपतिले सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने बताउनु भएको छ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ।

जानकारी तथा लेखहरु