फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा एक वर्षमा सात सय ४७ किलोमिटर सडक कालोपत्र

(GMT+08:00) 2019-03-20 16:26:07

सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ। मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो। राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मध्यपहाडी लोकमार्गमा ७० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ। नारायणगढ–मुग्लिन सडक ३२ किलोमिटर र मदन भण्डारी राजमार्गमा १२ किलोमिटर सडक कालोपत्र भएको छ।

मन्त्रालयले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महासेठले राष्ट्रिय गौरवका आयोजनामा यस आवमा विनियोजित बजेट खर्च भइसकेर अर्थ मन्त्रालयमा थप रकमको माग गरिएको बताए । उनका अनुसार मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर र हुलाकी राजमार्ग दु्रतगतिमा निर्माणकार्य भइरहेकाले अर्थ मन्त्रालयमा थप रकम माग भएको हो।

पछिल्लो एक वर्षमा एक हजार ११८ किलोमिटर सडक ग्राभेल (खण्डस्मित) भएको मन्त्रालयले जनाएको छ। मध्यपहाडी लोकमार्गमा ९० किलोमिटर र मदन भण्डारी राजमार्गको धरान–चतरा–हेटौँडा खण्डमा १०३ किलोमिटरमा ग्राभेल सम्पन्न भएको छ। यस अवधिमा ७२१ किलोमिटर सडकको ट्र्याक खोलिएको छ।

एक वर्षमा ४०-५० पुलको मात्रै निर्माण हुने गरेकामा यो वर्ष ९४ पुलको निर्माण सम्पन्न भएको हो।आगामी वर्ष २०० पुल निर्माण सम्पन्न गर्ने मन्त्रालयको योजना छ । छोटो र लामो दूरीमा रेलमार्गका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ।

जानकारी तथा लेखहरु